बैशाख १९ । सिन्धुपाल्चोक, गैरआवासीय नेपालीहरुले भूकम्पपीडित सिन्धुपाल्चोकका जनतालाई पहिलोपटक राहत वितरण गरेको छ ।
सिन्धुपाल्चोकको चनौटेमा शुक्रबार एउटा कार्यक्रमको आयोजना गरेर महांकाल, इचोक, किउल, हेलम्बु र पाल्चोक गाविसका करिव एक हजार परिवारलाई राहत बितरण गरिएको हो । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेको नेतृत्वमा पुगेको गैरआवासीय नेपाली स्वयंसेवकहरुको टोलीले पीडित परिवारलाई त्रिपाल, कम्बल, चाउचाउ, चिउरा लगायतका राहत सामाग्री वितरण गरेको हो ।
जिल्ला प्रशासन कार्यालयसँगको समन्वय र उनीहरुको सिफारिसकै आधारमा एनआरएनले सवैभन्दा धेरै प्रभावित यी गाविसहरुमा राहत बितरण गरेको हो ।
स्थानीय बासिन्दाहरुका अनुसार गैरआवासीय नेपाली संघ नै सो क्षेत्रमा राहत लिएर पुग्ने पहिलो टोली हो । ‘भूकम्प आएको यति दिन बित्दा पनि यो क्षेत्रमा कोही पनि राहत बितरण गर्न आएको रहेनछ’ एनआरएन अध्यक्ष शेष घलेले भने-‘संसारभरका नेपालीहरुले एक-एक डलर जम्मा गरेको रकमबाट उहाँहरुकै हातमा राहत सामाग्री दिन पाउँदा सन्तोष मिलेको छ ।’
राहत लिन आइपुगेका स्थानीय वासिन्दाहरुले आफुहरु भोकभोकै बस्नुपरेको गुनासो गरेका थिए । परिवारका सदस्य र वस्तुभाउ गुमाएका स्थानीय वासिन्दाहरुले गैरआवासीय नेपालीहरुको तर्फबाट खाना र नाना पाएपछि सन्तोषको सास फेर्दै धन्यबाद दिनुभयो ।राहत वितरण कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष घले, उपाध्यक्ष भवन भट्ट, एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजक गोविन्द श्रेष्ठ, एमआईटी फाउन्डेसनकी अध्यक्ष जमुना गुरुङ लगायतले पिडीतलाई राहत वितरण गरेका थिए । राहत वितरण कार्यक्रमको संयोजन एनआरएन बहराइनका पूर्व अध्यक्ष श्याम तामाङले गर्नु भयो ।
नेपाल भूकम्पको महाविपत्मा परेपछि गैरआवासीय नेपाली संघले बिश्वभरका नेपालीहरुलाई आपतकालिन राहत संकलन अभियानका लागि आह्वान गरेको थियो । संसारभरका नेपालीहरुले संकलन गरेको करिव १० करोड रुपैयाँ बिभिन्न ७ जिल्लाका भूकम्पपिडीतका लागि राहत बितरण गर्ने एनआरएनले तयारी गरिरहेको छ ।
संघले सिन्धुपाल्चोकसँगै काभ्रे, धादिङ, नुवाकोट, गोरखा, रसुवा र गोरखामा गरी कूल १० हजार परिवारलाई न्यूनतम राहत वितरण गर्ने तयारी गरिरहेको छ ।








