वैशाख १८ । काठमाडौं,महाभूकम्पले भत्काएको घरको भग्नावशेषबाट २२ घन्टापछि पाँच महिने बालकको जीवितै उद्दार गरिएको छ । भूकम्प आएको दिन शनिबार ती पाँच महिनाका शिशु सोनित अवालेलाई भक्तपुरस्थित घरमा सुतिरहेका थिए ।भूकम्पले घर भत्किएपछि पुरिएका सोनितलाई नेपाल आर्मीसहितको टोलीले भोलिपल्ट जीवितै उद्दार गरेको हो । नेपाली सेनाको यो बहादुरीसाथ गरिएको उद्धारलाई एक हिसावले चमत्कार नै मानिएको छ ।
भग्नावशेषमा सोनित पुरिएपछि परिवारका सदस्य र आफन्त आफैंले उद्दारको प्रयास नगरेका होइनन् । तर, स्रोत साधन सम्पन्न टीमले मात्रै निकै ढीलो गरी उद्दार सम्भव भयो ।
सोनितकी आमा रश्मिला अवालेले उद्दारको सफलता सुनाउँदा मुहारमा अर्कै चमक र खुसी थियो । रस्मिलाले पुरिएको मेरो बच्चा जीवितै पाएकोमा आफु अति खुशी र अचम्मित परेको बताउनु भयो । भूकम्प गएको समयमा सोनितका आमाबुबा र १० वर्षकी दिदी घर बाहिर थिए । सोनित २२ घण्टासम्म भग्नावशेषमा पुरिए । पटक-पटक उनी रोएको आवाज सुनिन्थ्यो ।








