जेठ १७ । गोरखा “मास्टरसाप, तपार्इंले नै पढाउनुभएको धेरै दुःखले खडा गरेको विद्यालय आज भग्नावशेषमा परिणत भयो, विद्यार्थीका लागि बस्न योग्य छैन । गत वैशाख १२ को भूकम्पले घर भत्कियो, विद्यालय भत्कियो, तपार्इं त विश्वले चिनेको ठूलो मान्छे, लौ न विद्यालयलाई पूर्ववत् अवस्थामा फर्काउन सहयोग गरिदिनुप¥यो ।”
यो भनाइ गोरखा आरुघाटका भुवनप्रसाद श्रेष्ठको हो । एकीकृत नेकपा ९माओवादी०का अध्यक्ष पुष्पकमल दाहाल भीमोदय उच्च माध्यमिक विद्यालयमा शिक्षकका रुपमा कार्यरत रहँदा उहाँको घरबेटी रहनुभएका श्रेष्ठले गर्नुभएको पुकार हो यो ।
‘गोरखा भूकम्प’ले ध्वस्त पारेको आरुघाट बजार र भीमोदय उमाविको स्थलगत अवलोकनका लागि आउनुभएका अध्यक्ष दाहाललाई देख्नेबित्तिकै श्रेष्ठले अरु ठूलो माग राख्नुभएन, आफैँले पढाएको विद्यालयलाई पूर्ववत् हालतमा पु¥याइदिन आग्रह मात्रै गर्नुभयो । विसं २०३३ मा दाहाल श्रेष्ठको घरमा बस्नुभएको थियो । आफ्नो घरमा डेरा गरी बस्ने एमाओवादी अध्यक्ष दाहाल, सोही विद्यालयका प्रधानाध्यापक एवम् पूर्व मन्त्री रामकुमार श्रेष्ठ र नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले संयुक्त रुपमा पसिना बगाएको सो विद्यालय आज खण्डहर भएको छ ।
आरुघाटवासीले अध्यक्ष दाहालसँग ठूलो अपेक्षा गरेनन् । बस्ने घर छैन, खाने अन्न छैन, तर उनीहरुले घरभन्दा ठूलो विद्यालय मानेका छन् । उनीहरु घर त विस्तारै बनाउँदै जाउँला भन्ने सोचमा छन् । तर विद्यालयलाई पहिलो प्राथमिकतामा राखेका छन् । शिक्षकका रुपमा तत्कालीन समयमा कार्यरत एमाओवादी अध्यक्ष दाहाल विद्यालयको अवस्था देखेर एकछिन भावुक हुनुभयो ।
अध्यक्ष दाहालसँगै अध्यापन गराउनुभएका अर्का पूर्व शिक्षक गणेशकुमार श्रेष्ठ पनि विद्यालयलाई तत्कालै पूर्ववत् अवस्थामा पु¥याउन आग्रह गर्नुहुन्छ । “हामीलाई अरु केही आवश्यक छैन, विद्यालय बनाइदिनुप¥यो, तपाईंले पहल गर्नुभयो भने केही हुन्छ” – श्रेष्ठले अध्यक्ष दाहाललाई भन्नुभयो । उहाँको भनाइ भुइँमा खस्न नपाउँदै अध्यक्ष दाहालले भन्नुभयो – “सानो सहयोगका रुपमा ५१ बन्डल जस्तापाता ल्याएको छु । आगामी दिनमा थप सहयोग उपलब्ध गरौँला, धन्दा नमान्नुस् । विद्यालय पूर्ववत् अवस्थामा फर्कन्छ ।”
आरुघाटका अर्का स्थानीयवासी भरतप्रसाद श्रेष्ठ पनि ढलेको घर र भत्किएको आशाभन्दा ज्ञानको मन्दिर उजाडिएकामा चिन्तित हुनुहुन्छ । “डेढ घन्टा परको जङ्गलमा गएर हामीसँगै काठ काट्न गएको सरलाई याद छ नि” ? श्रेष्ठले सवाल तेस्र्याउन नपाउँदै दाहालले भन्नुभयो – “लौ, दाइ पनि काँधमा गएको खाला अझै बिसेक भएको छैन, कति दुःख गरिएको थियो त । तपाईं आफैँ जानकार हुनुहुन्छ नि ?”
अध्यक्ष दाहालकै प्रेरणामा स्थापना गरिएको भीमोदय उमावि नजिकैको अर्को विद्यालय श्री जनशक्ति निमावि पनि भग्नावशेषमा परिणत भएको छ । सो विद्यालयका प्रधानाध्यापक हरिहर श्रेष्ठ पनि अध्यक्ष दाहाललाई पूरानै प्रश्न तेस्र्याउनुभयो – “सर, यो विद्यालय पनि तपाईंकै देन हो ? भैँचालोले भत्काइदियो, अब के गर्ने होला ?” अध्यक्ष दाहालले भन्नुभयो – “५१ बन्डल जस्तापाता ल्याएको छु । आधा भीमोदयलाई वितरण गरिन्छ, आधा तपाईंहरुले लिनुभए हुन्छ ।”
भीमोदय उमाविका प्रधानाध्यापक मनप्रसाद बन्जराका अनुसार हाल सो विद्यालयमा ७५० विद्यार्थी अध्ययनरत छन् । स्थानीय साधन स्रोत प्रयोग गरेर भीमोदय बहुमुखी क्याम्पस पनि सञ्चालन गरिएको छ । क्याम्पसमा दुई सय विद्यार्थी अध्ययनरत छन् । कुल २९ वटा कक्षाकोठामध्ये २१ वटा पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । बाँकी रहेका कक्षा पनि अध्यापनका लागि योग्य छैनन् । सो विद्यालयको अस्थायी टहरा निर्माणका लागि हाल एमाओवादीका स्थायी समिति सदस्य जनार्दन शर्माको नेतृत्वमा एक हजार पाँच सय नेता तथा कार्यकर्ता परिचालित भएका छन् ।
सञ्चारकर्मीसँग कुरा गर्दै एमाओवादी स्थायी समिति सदस्य शर्मा भीमोदय उमाविमा कक्षा सञ्चालन गर्न मिल्ने आठ कोठा निर्माण गरिने बताउनुभयो । सरकारले आजदेखि भूकम्प प्रभावित क्षेत्रमा विद्यालय सञ्चालन गर्ने जनाए पनि अधिकांश विद्यालयमा अस्थायी संरचना निर्माणको क्रम जारी रहेका कारण केही दिन अझै असम्भव जस्तो देखिएको छ ।
भीमोदय उमाविका प्रधानाध्यापक बन्जरा एमाओवादीको टोलीले विद्यालय सञ्चालनका लागि बनाइदिएको अस्थायी टहरा तत्कालका लागि उपयोगी हुने बताउनुहुन्छ । उहाँले पनि एमाओवादी अध्यक्ष दाहाललाई भन्नुभयो – “पूर्व प्रधानमन्त्रीज्यू, विद्यालय सञ्चालनका लागि भरपूर सहयोग गरिदिनुस् ।”








