भारतमा कर्मचारीलाई योग मनपराउने प्रधानमन्त्रीसँगै अभ्यास गर्न आग्रह

जेठ, १६। नयाँदिल्ली, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसअघि उच्चपदस्थ कर्मचारी दिउँसोको खानाका लागि लामो समयसम्म कार्यालयमा अनुपस्थित हुने अवस्था तथा उनीहरूको गल्फ क्लबको सदस्यता हटाइसक्नुभएको छ । योगी भनी ख्याति प्राप्त गर्नुभएको प्रधानमन्त्री मोदीले अब ती कर्मचारीलाई उनीहरूको शरीर तन्दुरुस्त राख्न आफूसँगै बिहान सबेरै शारीरिक अभ्यास गराउन चाहनुभएको छ ।

प्रधामन्त्री मोदीले आउँदो महिना भारतीय प्राचीन शारीरिक अभ्यासको अन्तर्राष्ट्रिय दिवस मनाउँदा उहाँको नेतृत्वमा आम योगाभ्यासमा सरिक हुन भनी वरिष्ठ सरकारी कर्मचारीहरूले पत्र प्राप्त गरेका छन् ।

प्रधानमन्त्री मोदी योगाभ्यासकर्ता हुनुहुन्छ र उहाँले जुन २१ मा नयाँ दिल्लीको केन्द्रमा बिहान ७ः०० बजे खुला रूपमा योगाभ्यास गर्नुहुनेभएको छ भने र ३५ हजार व्यक्तिले उहाँलाई यस अभ्यासमा साथ दिने अनुमान गरिएको छ ।

एक वरिष्ठ अधिकारीले आफ्नो परिचय नदिने सर्तमा प्रधानमन्त्री मोदीले उक्त दिन ३५ मिनेटसम्म योगाभ्यास प्रदर्शनको नेतृत्व गर्नुहुने बताए ।

यी अधिकारीले योग हेर्ने मन्त्रालयले सरकारी अधिकारीहरूलाई उक्त दिन गरिने योगासन सही रूपमा गर्न सहयोग गर्न डीभीडी तथा पुस्तिका पठाएको बताए ।

यी अधिकारीले सरकारी अधिकारीले प्रत्येक दिन १५ देखि २० मिनेटसम्म यस्तो योगाभ्यास गरे उनीहरू उक्त दिनका लागि तयार हुने बताए ।

उनले यो सरकारी अधिकारी आफैँका लागि फाइदाको कुरा भएको र यो राम्रो अनुभव हुने बताए ।

संयुक्त राष्ट्र सङ्घले गत वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवस घोषणा गरेको छ । यससम्बन्धी प्रस्ताव भारतीय प्रधानमन्त्री मोदीले नै राख्नुभएको थियो ।

शाकाहारी प्रधानमन्त्री मोदी दैनिक रूपमा योगाभ्यास गर्नुहुन्छ र उहाँले संयुक्त राष्ट्र सङ्घको निर्णयबाट गौरवान्वित भएको बताउनुभएको थियो । उहाँ दैनिक रूपमा निकै घण्टा काम गर्नुहुन्छ र निकै कम सुत्नुहुन्छ र यो क्षमता उहाँले योगबाटै प्राप्त गर्नुभएको मानिएको छ ।

एक वर्ष अगाडि शासनमा आउनुभएका प्रधानमन्त्री मोदीले अप्रभावकारी भनिएको भारतीय कर्मचारीतन्त्रलाई नियन्त्रण गर्न थाल्नुभएको छ ।

उहाँले दिल्लीको सबैभन्दा पुरानो र सम्मानित गल्फ क्लबले सरकारी कर्मचारीलाई दिएको सदस्यता खारेज गर्नुभएको छ भने उनीहरूलाई समयमै काम गर्न दबाब परेको छ ।

सम्बन्धित शिर्षकहरु