दुर्घटनामा ज्यान गुमाएकाका परिवारद्वारा रोल्पामा यातायात अवरुद्ध

जेठ १५ ।रोल्पा,जीप दुर्घटनामा ज्यान गुमाएकाका परिवार तथा आफन्तले विभिन्न माग राख्दै आज बिहानैदेखि रोल्पामा यातायात सेवा ठप्प पारेका छन् ।

चालक र सहचालकको लापर्बाहीका कारण दुर्घटना भएको भन्दै मृतकका आफन्तले बिहीबार भएको जिप दुर्घटनामा ज्यान गुमाएकाका परिवारले जिल्ला बाहिरिने र जिल्लाभित्र सञ्चालन हुने सम्पूर्ण यातायातका साधन सञ्चालनमा रोक लगाएका हुन् । जिल्लाभित्र र बाहिरका कुनै पनि सवारी साधन नचलेपछि यात्रु भने मर्कामा परेका छन् । चालक र सहचालकलाई कडा कारबाही गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति तथा छोराछोरीलाई निःशुल्क पठनपाठनको व्यवस्था गर्नुपर्ने, घाइतेको निःशुल्क उपचार गर्नुपर्नेलगायत माग राख्दै मृतकका आफन्त शवसमेत नबुझेर आन्दोलित भएका हुन् ।राजनीतिक दल, पीडित पक्ष र यातायात व्यवसायीबीच अहिले जिल्ला प्रहरी कार्यालयमा वार्ता भइरहेको छ । माग पूरा नभएसम्म यातायात सञ्चालन हुन नदिने र शव पनि नबुझ्ने मृतक दलबहादुरका आफन्त सुन्दरकुमार वलीले बताउनुभयो । बिहीबार पनि जलजला यातायात समिति र पीडित पक्षबीच वार्ता भएको तर वार्ता बिनानिष्कर्ष टुङ्गिएकाले आज बिहानैदेखि यातायात सञ्चालनमा रोक लगाई बिहानैदेखि वार्ता सुरु भएको हो ।बिहीबार दिउँसो सदरमुकामबाट घर्तीगाउँका लागि छुटेको लु१ज १३९२ नंकोे जिप जिल्लाको कोटगाउँ– १ माडिचौरस्थित नर्सरी भन्ने ठाउँमा सडकबाट करिब ५५ मि तल खस्दा जिपमा सवार इरिवाङ– ७ सर्पलोटेका ४२ वर्षीय दलबहादुर डाँगी र इरिवाङ– ८ की २६ वर्षीया विष्णु वादीको ज्यान गएको थियो ।
डाँगी बालशिक्षा निमावि थुनिकोट इरिबाङका प्रअ हुनुहुन्थ्यो । यस्तै दुर्घटनामा गम्भीर घाइते १९ वर्षीय सहचालक सन्तोष बुढासहित छ जनालाई जिल्ला बाहिर पठाइएको प्रहरीले बताएको छ । अन्य घाइतेको जिल्ला अस्पताल रेउघामा उपचार भइरहेको छ ।

सम्बन्धित शिर्षकहरु