वाग्मती नुहाउन योग्य भएपछि हत्यामोचन घाटमा गङ्गा दशहरा मेला

जेठ १४  । काठमाडौँ,  वाग्मती नदी सफा हुँदा भव्यरुपमा नदी किनारस्थित हत्यामोचन घाटमा लाग्ने गङ्गा दशहरा मेलालाई गत वर्ष नदीमा नुहाउन योग्य पानी बग्न थालेपछि स्थानीयवासीले निरन्तरता दिन सुरु गरेकामा यस वर्ष आज लागेको मेलामा स्नान गर्न आउनेको भिड लागेको छ ।

हालको गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिका एवम् साविक गोठाटार–४, जोरपाटी–५ र मूलपानी–१ को सङ्गमस्थलस्थित हत्यामोचन घाट धार्मिक र ऐतिहासिकरुपमा महत्वपूर्ण स्थल भएपनि २०३० सालदेखि यो तीर्थ वाग्मतीमा ढल बग्न थालेपछि ओझेलमा परेको जोरपाटीवासी साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ले बताउनुभयो ।

“पौराणिककालमा भगवान् विष्णुका छैठौँ अवतारका रुपमा जन्म लिएका पर्शुरामले पिताको आज्ञामा माताको हत्या गरी हत्याको पाप मोचनका लागि उत्तराखण्डस्थित ब्रह्मपुत्र नदीदेखि स्नान गर्दै आउँदा त्यस समयमा ब्रह्मसरस्वती भनेर चिनिने वाग्मती नदीमा स्नान गर्दा पर्शुरामको हत्यामोचन भएकाले यस ठाउँलाई हत्यामोचन घाट भनिएको तथ्य विभिन्न पुराणहरुमा उल्लेख गरिएको छ” – घाटमा प्रवचनसमेत गर्दै आउनुभएका घिमिरेले जानकारी दिँदै भन्नुभयो ।

हत्यामोचनघाटमा मल्लकालदेखि नै गङ्गा दशहरा मेला लाग्ने गरेको थियो । शाहकाल र राणाकालमा त राजा र प्रधानमन्त्रीहरु नै रानीसहित यस स्थानमा आई ज्येष्ठ शुक्ल दशमीका दिनमा स्नान गर्ने गरेको मूलपानीका स्थानीयवासी ७९ वर्षीय वृद्ध सुदर्शन अधिकारीले बताउनुभयो । महेन्द्र राजा भएका बेलामा रत्नराज्य लक्ष्मी शाहले हत्यामोचन घाटमा आई सात पटकसम्म सप्ताह लगाएको आफ्नै आँखाले देखेको गोठाटारवासी चण्डीप्रकाश दाहालले सम्झनुभयो ।

विसं २०३० देखि २०७० सम्म ४० वर्ष नदी फोहोर भएकाले स्नान मेला लागेको थिएन । २०७१ मा वाग्मती नुहाउन योग्य भएपछि स्थानीयवासीको सहयोगमा यो धार्मिक एवम् ऐतिहासिक मेलालाई पुनः सञ्चालन गरिएको गङ्गा दशहरा मेला व्यवस्थापन समितिका अध्यक्ष रोहित लिम्बूले जानकारी दिनुभयो । “२०७१ मा पुनः सुरु गरिएको मेलालाई यस वर्ष भव्यरुपमा निरन्तरता दिएका छौँ, सांस्कृतिक धरोहरका रुपमा रहेको यस्ता स्थललाई लोप हुन दिनुहुन्न भनी स्नान मेला सञ्चालनको अभियानमा लागेका हौँ” – उहाँले भन्नुभयो ।

यस वर्ष भूकम्पमा परी दिवङ्गत भएकाको आत्माले शान्ति पाओस् भन्ने कामनाले घाटमा विशेष पूजाआजाका साथ अनुष्ठान गरिएको मेला आयोजक समितिले जनाएको छ ।

यस वर्ष आज लागेको मेलामा पूर्व मन्त्री देवीप्रसाद ओझाको समेत उपस्थिति रहेको थियो । पूर्व मन्त्री ओझाले मेला पुनः सञ्चालनमा योगदान पु¥याउने जनार्दन घिमिरे, वडा सचिव रामप्रसाद दाहाललगायत व्यक्तित्वलाई सम्मानसमेत गर्नुभएको थियो ।

“यस्ता सांस्कृतिक, पौराणिक र धार्मिक स्थलको संरक्षणमा सरकारले पनि ध्यान दिनुपर्छ, अन्य देशमा यस्ता स्थललाई पर्यटकीय केन्द्र बनाई आयआर्जनको माध्यम बनाए जस्तै बनाउन सम्बन्धित सरकारी निकायले ध्यान देओस्” – पूर्व मन्त्री ओझाले भन्नुभयो ।

सम्बन्धित शिर्षकहरु