नेपाल र ईण्डियन मेडिकल एशोसियसनले स्वास्थ्य शिविर खोल्ने

जेठ १३ ।काठमाडौं,नेपाल मेडिकल एशोसियसन र ईण्डियन मेडिकल एशोसियसनले संयुक्त घुम्ती स्वास्थ्य शिविर (मोवाईल हेल्थ क्याम्प) सञ्चालन गर्ने भएको छ ।बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर गत बैशाख १२ र २९ गते आएको महाभुकम्पबाट विभिन्न रोगहरु उत्पन्न हुने खतरा रहेकोले यो दुई संघ संस्थाले स्वास्थ्य शिविर (मोवाईल हेल्थ क्याम्प) सञ्चालन गर्ने घोषणा गरिएको हो ।
दुवै देशका मेडिकल एशोसियसनले भुकम्पका कारण अस्थायी बसोबासमा बसेका नेपालीहरु महामारीको जोखिममा पर्ने संभावना रहेको भन्दै चाँडोभन्दा चाँडो घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्ने बताएको हो ।
भूकम्प पीडितहरुको लागि औषधोपचारका लागि ईण्डियन मेडिकल एशोसियसनले करिव रु ४० लाखको सहयोग गरिसकेको समेत एशोसियसनका अध्यक्ष डा. मारथान्डा पिलाईले जानकारी दिनु भयो ।
उहाले नेपालमा परेको विपत्तको समाधान गर्न जतिसक्दो चाँडो नेपाललाई चाहिएको सहयोग गर्न मेडिकल टिम समेत उक्त विपत्तकालिन समयमा यहाँ आएको बताउनु भयो । उहाले भुकम्प पीडितहरुको लागि उद्देश्यले हार्ट केयर फाउण्डेशन अफ ईण्डिया, उद्योग डेभलपमेन्ट फाउण्डेशन न्यू दिल्ली र ईण्डियन मेडिकल एशोसियसनको संयुक्त पहलमा निःशुल्क स्वास्थ्य सेवा समेत प्रदान गरेको बताउनु भयो ।
नेपाल मेडिकल एशोसियसनका अध्यक्ष डा. अञ्जनी कुमार झाले भुकम्प पीडितहरुका लागि आफूहरुले यथाशिघ्र स्वास्थ्य सेवाको पहुँच पुर्याएको दाबी गर्नु भयो । झाले नेपालमा आएको महाभुकम्पबाट प्रभावित नेपालीहरुको उद्धारका लागि ईण्डियन मेडिकल एशोसियसनले औषधोपचारका लागि गरेको सहयोगको खुलेरै प्रशंसा गरेका छन् ।
अध्यक्ष झाले नेपाल सरकारका जिम्मेवार पदाधिकारीहरुले प्राकृतिक प्रकोप तथा विपत्त व्यवस्थापनका नाममा विभिन्न गोष्ठी, सेमिनारमा भाग लिने गरेको र त्यसैको नाममा ठूलो धनराशिमा खर्च भएको उल्लेख गर्दै तर त्यसबाट शुन्य उपलब्धि भएको आरोप लगाउनु भयो ।
कार्यक्रममा दुवै देशका मेडिकल एशोसियसनवीच भएको विभिन्न सात बुँदे सहमति समेत सार्वजनिक गरिएको छ ।कार्यक्रममा नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. केदारनरसिंह केसी, नेपाल मेडिकल एशोसियनका महासचिव मुक्तिराम श्रेष्ठ, ईण्डियन मेडिकल एशोसियसनका महासचिव डा. के.के. अग्रवाल र आई.एच.क्यू. अन्र्तगत विपत्त व्यवस्थापन केन्द्रका डा. चेतन पटेल लगायतले मनशुनपछि हुन सक्ने महामारीका बारेमा विशेष तयारीमा रहनुपर्नेवारे सुझाव दिनु भएको थियो ।

सम्बन्धित शिर्षकहरु