मेलबर्नमा जुन ६ तारिखमा पासपोर्ट सेसन गरिने

नेपाली राजदूतावास टोलीले आगामी जुन ६ तारिखका दिन भिक्टोरियास्थित महावाणिज्यदूतको कार्यालयमा पासपोर्ट सेसन गर्ने भएको छ ।महावाणिज्यदूत चन्द्र योञ्जनले हस्ताक्षर गरी जारी गर्नुभएको विज्ञप्तिमा नेपाली राजदूतावासको टोलीले जुन ६ र ७ तारिख दुई दिन यहाँका सेवाग्राहीलाई एमआरपी फर्म भर्ने बिषयमा जानकारीमूलक कार्यशाला आयोजना गर्ने जानकारी दिइएको छ । यस कार्यशालामा भरिएका फर्महरु संकलन गरिनेछ । भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत योञ्जनले यो सेवाले मेलबर्न र यसको आसपासमा रहेका व्यक्त्तिहरुले सहजै फाईदा उठाउन सक्ने बताउनु भयो ।

मुख्यतः अष्ट्रेलियामा रहने नेपाली समूदायका सदस्यहरुले एमआरपीका निम्ति फर्म भर्दा धेरै नै गल्ती देखिएको भन्दै यसअघि सिड्नी, एडिलेडमा यस्तै कार्यशाला एनआरएन अष्ट्रेलिया र दूतावासको आयोजनामा सम्पन्न भइसकेका छन् । यस्तो सेसन निकै प्रभावकारी भएको भन्दै अन्य राज्यबाट समेत संयोजन गरी दूतावासको टोलीलाई निमन्त्रणा गरिएको छ । उक्त दिन पासपोर्ट बनाउनका निम्ति फर्म बुझाउन आउनेहरुले ५ प्रति फोटो, सक्कली पासपोर्ट, पासपोर्टको जानकारीसहितको पहिलो पेजको फोटोकपी, नागरिकताको प्रमाणपत्रको फोटोकपी, १ सय ९० डलरको मनी अर्डर वा नगदै लिएर आउनु पर्नेछ । यस अघि एमआरपी बनाउनका निम्ति अष्ट्रेलियाका विभिन्न राज्यमा रहनेहरु आफैं क्यानबेरासम्म जान बाध्य थिए । उनीहरुले हुलाक मार्फत पासपोर्ट र फर्म पठाएर पनि यस्तो सुविधा लिनसक्ने छन । दूतावासको टोली स्वयं घरदैलोमा पुग्ने भएपछि मेलबर्नबासी नेपालीहरु लाभान्वित हुने भएका हुन् ।

सम्बन्धित शिर्षकहरु