सिन्धुपाल्चोक,अमेरिकामा बसोबास गर्ने नेपालीहरूको संस्थाले भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोकका विद्यालय पुनःनिर्माण गरिदिने भएको छ ।
अमेरिकामा रहेर शिक्षाको क्षेत्रमा काम गरिरहेको संस्था हिमालयन फाउन्डेसन कर्प तथा ‘करि विदाआउट वरी’ नामक संस्थाले सिन्धुपाल्चोकको दुवाचौर गाविसमा रहेका पाँच विद्यालय पुनःनिर्माणका लागि रु १५ लाख हस्तान्तरण गरेको छ । फाउन्डेसनले सो क्षेत्रमा २०० बोरा चामल पनि बिहीवार वितरण गरेको छ ।
फाउन्डेसनका अध्यक्ष यज्ञलाल श्रेष्ठ र करि विदाउट वरीका कार्यक्रम संयोजक श्रवण नेपालीले नगद र खाद्य सामग्री आज दुवाचौरस्थित बालसुधार उच्च माविका प्रधानाध्यापक ज्ञानेन्द्र श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो ।सिन्धुपाल्चोकको दुवाचौरमा मात्र भूकम्पबाट १६१ जनाले ज्यान गुमाएका छन् भने एक हजार ३०० घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।








