चिनियाँ सहायक विदेशमन्त्री नेपाल आउँदै

जेठ ७ । काठमाडौं,चीनका परराष्ट्र सहायक मन्त्री लिउ जेनचाओ आज नेपाल आउन लाग्नु भएको छ । ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आउन लाग्नु भएको उहा दुईदिन सम्म नेपाल रहनु हुनेछ । भूकम्पपछिको नेपालको अवस्था तथा पुनर्निर्माण एवम् राहतको अवस्थाबारे बुझ्न जेनचाओ आज नेपाल आउन लाग्नु भएको हो ।

प्रतिनिधिमण्डलमा परराष्ट, वाणिज्य, राज्य प्रशासन तथा सांस्कृतिक सम्पदा, चीन भूकम्प प्रशासन तथा राष्ट्रिय जनसङ्ख्या एवम् परिवार नियोजन आयोगका अधिकारी रहने नेपालस्थित चिनिया दूतावासले जनाएको छ ।

सहायक मन्त्री लिउले प्रधानमन्त्री सुशील कोइराला र परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ ।

चिनियाँ दुतावासका अनुसार वैशाख २९ गतेको भूकम्पपछि पनि चीनले घोषणा गरेको १४ करोड युआन बराबरको राहत सामग्री काठमाडौं ल्याउनेक्रम सुरु भएको छ । बुधबार विशेष विमानबाट ती सामग्री राजधानी ल्याइएको छ ।

त्यसैगरी चिनियाँ जनमुक्ति सेनाले प्रभावकारी एवम् सहज रुपमा उपचार सेवा उपलब्ध गराउन नेपाली सेनालाई २४ वटा घुम्ती अस्पताल उपकरणसहित प्रदान गरेको छ । ती उपकरण सञ्चालनमा नेपाली सेनालाई पोख्त बनाउन १७ सदस्यीय चिनियाँ टोलीले पाँचदिनसम्म प्रशिक्षण दिनेछ ।

सम्बन्धित शिर्षकहरु