चन्द माओवादीले नेताहरुकै घरजग्गा कब्जा गर्‍यो

netra bikram chand biplapवैशाख ८ ।चरिकोट,नेकपा माओवादी नेत्रविक्रम चन्द समूहले दोलखामा एमाओवादी नेता जितवीर लामाको घर तथा एमाले नेताका जग्गा कब्जा गरेको छ । माओवादी दोलखाले एक विज्ञप्त्ति जारी गरेर सिङ्गटीस्थित लादुक-८ को पूर्वसांसद एमाओवादी नेता लामाको एक कच्ची घर र एमाले नेताले सञ्चालन गर्न लागेको लामिडाँडा–६ को सामुदायिक स्वास्थ्य प्रवद्र्धन केन्द्रको जग्गामा पार्टीको झन्डा गाडी आफ्नो कब्जामा लिएको जानकारी दिएको हो । दोलखाको २० गाविसका जनताको स्वास्थ्य प्रवद्र्धनका लागि २०६१ साउन २८ गते लिएको एक हजार ६९६ वर्गमिटर जग्गामध्ये २०६८ साल साउन ३२ गते संस्थाकै पदाधिकारी एवम् एमाले नेताहरु कुमार खड्का, प्रकाश केसीले एक हजार २०० वर्गमिटर जग्गा आफ्नो नाममा पास गरेकाले कब्जा गरेको माओवादीले उल्लेख गरेको छ ।संस्थाको प्रतिनिधि प्रदीप सिवाकोटीलाई बनाए पनि उनले राजीनामा गरेको पाइएको माओवादीका सेक्रेटरी सञ्जीव नेपालीले बताउनुभयो । जनसमुदायको लगानी रहेको गैरसरकारी संस्थाको जग्गा आफूखुसी आफ्नो नाममा दर्ता गरेकाले संस्थालाई नै जग्गा फिर्ता नगरेसम्म जग्गा पार्टीले कब्जा गर्ने उहाँले बताउनुभयो ।

खड्का र केसी दुवै एमाले जिल्लास्तरीय नेता हुन् । १० वर्षअघि जग्गा सस्तोमा खरिद गरे पनि अहिले सिङ्गटीको जग्गा लाखौँ मूल्य पर्छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजना नजिकैको, लामिडाँडा र लादुकको सङ्गमस्थलको घर र जग्गा सिङ्गटी बजारमा पर्छ ।
त्यसैगरी पूर्वसांसद जितवीर लामाले दोलखाको लादुक–८ सिङ्गटीमा २०५८ सालमा एउटा कच्ची घर बिक्री गरेर पैसा लिए तापनि पास नगरेको भन्दै घर कब्जा गरेको जनाएको छ ।२०४८ सालमा एमालेका तर्फबाट दोलखा क्षेत्र नं २ बाट निर्वाचित सभासद् लामा एमाले विभाजन हुँदा नेकपा (माले) हुँदै २०६४ सालमा माओवादी प्रवेश गर्नु भएको थियो । हाल एनेकपा माओवादीका केन्द्रीय सदस्य पूर्वसांसद लामाले आपसी सहमतिमा डम्बरबहादुर बुढाथोकीलाई घर बिक्री गर्नु भएको थियो ।तत्कालीन समयमा घरको मूल्याङ्कन रु ६० हजार गरी पटकपटकमा रु ५५ हजार लिए पनि थप रकम लिएर घर पास गरिदिनुपर्नेमा उल्टै पैसा लिएको प्रमाण दिन धम्कीसमेत दिएको पीडित बुढाथोकीले गुनासो गर्नुभयो । पार्टीका तर्फबाट लामालाई लिखित र मौखिक रुपमा विगतको आपसी सहमतिअनुसार बुढाथोकीलाई थप पैसा लिएर घर पास गरिदिन गरेको आग्रह अटेर गरेकाले पार्टीले कब्जा गर्नु परेको चन्द माओवादीका अर्का नेता अर्जुन योगीले बताउनुभयो ।

सम्बन्धित शिर्षकहरु