चैत २६ ।काठमाडौँ, विश्व शान्ति मितेरी मञ्च नेपालको ‘विश्वशान्ति र मित्रताको लागि सगरमाथा आरोहण-२०१५’ नामक अभियानअन्तर्गत विश्वको सर्वोच्च शिखर सगरमाथाबाट १९३ राष्ट्रका झण्डाहरू फहराइने भएको छ ।अभियानअन्तर्गत संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रहरूका राष्ट्रिय झण्डा सगरमाथाको सर्वोच्च बिन्दुबाट फहराउन लागिएको हो ।मञ्चका उपाध्यक्ष पर्वतारोही फुर्वाठी शेर्पाले १९३ राष्ट्रसङ्घ सदस्य मुलुकको राष्ट्रिय झण्डा लिई आगामी २०७२ जेठ महिनामा सगरमाथाको सर्वोच्च बिन्दुबाट फहराउने संस्थाद्वारा बुधवार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
आरोहण सम्पन्न गरेपछि आगामी असारभित्र राष्ट्रसङ्घका हरेक सदस्य राष्ट्रको सगरमाथामा फहराइएको झण्डाको तस्विर सम्बन्धित राष्ट्रप्रमुखहरूलाई र राष्ट्रसङ्घको मुख्यालयमा शान्ति र मित्रताको ऐक्यबद्धताका लागि ध्यानाकर्षणपत्रका साथमा पठाइने मञ्चले जनाएको छ ।
शान्ति स्थापनाका लागि व्यक्ति, समाज र देशको प्रयासमात्र अपर्याप्त हुने भएकाले विश्वभर एकीकृत पहल होस् भन्ने हेतुले अभियान सुरु गरिएको मञ्चका अध्यक्ष विनय शाक्यले बताउनुभयो ।
नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का अध्यक्ष आङ्छिरिङ शेर्पाले सर्वोच्च शिखर सगरमाथाबाट विश्वका झण्डा फहराई विश्वभर शान्तिको सन्देश प्रवाह गर्न अभियान फलदायी हुने बताउनुभयो ।
आरोही शेर्पाले कुनै कीर्तिमान राख्न र तोड्न नभई विशुद्ध शान्ति र मित्रताको भावना विश्वभर जगाउन सर्वोच्च शिखरबाट झण्डा फहराउन लागेको बताउनुभयो ।आरोहणका लागि झण्डै रु १८ लाख लाग्ने र सो रकम आफैंले बेहोर्ने जानकारी पनि उहाँले दिनुभयो । कार्यक्रममा सगरमाथाबाट फहराइने सबै राष्ट्रका झण्डाहरूको नमूना प्रदर्शन गरिएको थियो ।








