सरकारले अग्नी पीडितलाई ३० लाखसम्म सहुलियत ऋण दिने

चैत २१ । काठमाडौं,सरकारले डडेल्धुरा र ताप्लेजुङ जिल्लाका आगलागी पीडितलाई सहुलियत ऋण दिने निर्णय गरेको छ । आगलागी पीडितहरुले भवन निर्माण तथा व्यवसाय सञ्चालन गर्न चाहेमा सरकारले यसरी सहुलियत ऋण दिने निर्णय गरेको हो ।शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले क्षतिका आधारमा ३० लाख रुपैयाँमा नबढ्ने गरी सहुलियतमा ऋण दिने निर्णय गरेको हो ।डडेल्धुरा र ताप्लेजुङका साथै भविष्यमा त्यस्तै प्रकृतिका घटनाबाट प्रभावित हुनेहरु सबैलाई सहुलियत ऋण सरकारले दिने सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले जानकारी दिनु भयो ।

यही चैत १० गते ताप्लेजुङमा भीषण आगलागी भएको थियो ।आगलागी पीडितले उक्त ऋण ५ वर्षसम्म सहुलियतमा पाउने छन् । त्यसको ब्याजमा पहिलो वर्ष शतप्रतिशत, दोस्रो वर्ष ७५ प्रतिशत र तेस्रो वर्ष ५० प्रतिशतले ब्याज छुट पाउने छन् ।यसैगरी चौथो वर्ष २५ प्रतिशत र पाँचौ आर्थिक वर्षमा १० प्रतिशतले ब्याज छुट दिने सरकारले निर्णय गरेको सन्चार मन्त्री रिजालले जानकारी दिनु भयो ।

मन्त्रिपरिषद् बैठकले लुम्विनी बौद्ध विश्वविद्यालयलाई रुपन्देहीको सक्रौन पकरी गाविसको चार बिगाहा १४ कठ्ठा १५ धुर जग्गा भाडामा उपलब्ध गराउने निर्णय समेत गरेकोछ ।

सम्बन्धित शिर्षकहरु