चैत २० ।चितवन,बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था दियालो परिवारको अध्ययन अनुसार चितवनको भरतपुर क्षेत्रमा रहेका सडक बालबालिकालाई परिवारमा पुनःएकीकरण गरिएकामध्ये ३० प्रतिशत पुनः सडकमै फर्किएका छन ।
विभिन्न शिक्षा र सीप सिकाएर परिवारमा पुनःएकीकरण गरिएका सडक बालबालिका मध्ये ३० प्रतिशत पुनः सडकमै फर्किएको पाइएको हो ।
करिब ७० प्रतिशत सफल भए पनि ३० प्रतिशत सडकमै फर्किनु विडम्बना भएको संस्थाका कार्यकारी निर्देशक केदारनाथ खनालले जानकारी दिनुभयो । उहाँका अनुसार दुई महिना लगाएर यहाँका सडक बालबालिकाको अध्ययन तथा सर्वेक्षण गरिएको र सो क्रममा १५० को हाराहारीमा सडक बालबालिका रहेको पाइएको छ । यसअघि भरतपुर नारायणगढ क्षेत्रमा २०० सडक बालबालिका रहेको तथ्याङ्क सार्वजनिक भएको थियो ।
दियालो परिवारले विगत लामो समयदेखि बालबालिकालाई शिक्षा र सीप दिएर घरमा पुनःएकीकरण कार्यक्रम चलाएको थियो । सो क्रममा ८७ जनालाई परिवारमा फर्काइएको भए पनि ३० प्रतिशत फेरि सडकमा आइपुगेका छन् ।
सो अध्ययनअनुसार घरेलु हिंसा, गरिबी र पारिवारिक हेलाका कारण ३७ प्रतिशत बालबालिका सडकमा आउने गरिएका छन् । नेपालमा सडक बालबालिकाको सङ्ख्या एकीन नभए पनि पाँच हजारको हाराहारीमा रहेको अनुमानित तथ्याङ्क छ ।








