चैत १८ ।काठमाडौँ, नेपाल चिकित्सक सङ्घले देशभरका सरकारी तथा निजी स्वास्थ्य संस्थाका आकस्मिक सेवाबाहेक अन्य सेवा ठप्प पारेको छ ।
सरकारले अनशनरत प्रा डा गोविन्द केसीको मागलाई सम्बोधन नगरेको भन्दै सङ्घले ४८ घन्टाभित्र पनि माग पूरा नभए आकस्मिक सेवा पनि बन्द गर्ने चेतावनी दिएको छ । सङ्घ आबद्ध चिकित्सकहरुले विरोधस्वरुप हातमा कालोपट्टि बाँधी बिरामीको जाँच गरिरहेका छन् ।
यसबाट बिरामी समस्यामा परेका छन् । चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका सुधारको माग राखी डा केसी अनशनमा बस्नुभएको आज ११ दिन भएको छ । यस अवधिमा सङ्घले डा केसीको मागप्रति ऐक्यबद्धता जनाउँदै सङ्घको आह्वानमा चिकित्सकले विरोधस्वरुप साङ्केतिक विरोध गर्दै आएका थिए ।
आवासीय चिकित्सक सङ्घले चार दिनदेखि नै त्रिविवि शिक्षण अस्पलतालको आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द गरिसकेका छन् । सङ्घका अध्यक्ष डा रामचन्द्र सापकोटाले सरकारले डा केसीको मागलाई पूरा गर्नेतर्फ कदम नचाले आकस्मिक सेवा र भर्ना भएका बिरामीको पनि उपचार नगरिने चेतावनी दिनुभयो ।
डा केसीको चौथो पटकको अनशनका समयमा पनि सङ्घले देशव्यापी रुपमा स्वास्थ्य सेवा ठप्प पारेको थियो । डा केसीका मागप्रति सरकारी चिकित्सक सङ्घले पनि ऐक्यबद्धता जनाइसकेको छ ।
यसैबीच अहिले अनशनरत डा केसीका माग पूरा गर्ने विषयमा सरकारी वार्ता टोली र डा केसीका सहयोगीका बीचमा त्रिविवि शिक्षण अस्पतालमा वार्ता जारी रहेको ।








