चैत १७ ।मुस्ताङ,पर्यटकीय जिल्ला मुस्ताङले चालु आर्थिक वर्षमा करिब रु तीन करोड पर्यटन रोयल्टी पाएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट जिल्ला र क्षेत्रमा भित्रिएको पर्यटक सङ्ख्याका आधारमा रु दुई करोड ९७ लाख पर्यटन रोयल्टी पाएको हो । जिल्ला विकास समिति मुस्ताङका कार्यक्रम अधिकृत केदारसिंह थापाले पर्यटक सङ्ख्या बढेका कारण चालु आवमा दोब्बर रोयल्टी प्राप्त भएको जानकारी दिनुभयो । मुस्ताङमा गत वर्ष रु एक करोड ५० लाखमात्र रोयल्टी आएको थियो । जिल्लामा आव २०६९\७० मा ३० हजार पर्यटकले भ्रमण गरेका थिए । आव २०७०\७१ मा ४१ हजार पर्यटक भित्रिएको जिविसले जनाएको छ ।
पर्यटकलाई सत्कार गर्ने स्थानीयको संस्कार र प्राकृतिक सुन्दरताका कारण जिल्लामा बर्सेनि पर्यटकको सङ्ख्या बढ्दै गएको कार्यक्रम अधिकृत थापाले बताउनु भएको छ । रोयल्टीलाई पर्यटनकै क्षेत्रमा प्राथमिकताका आधारमा विनियोजन गर्ने जिविसले जनाएको छ ।








