चैत १६ ।काठमाडौँ, सम्पूर्ण पत्रकारहरूको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घ ६०औँ वर्षमा प्रवेश गरेको अवसरमा राजाधानीमा आज प्रभातफेरी निकालिएको छ । प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपबाट सुरु भएको पत्रकारहरुको प्रभातफेरी भद्रकाली मन्दिर, सहिद ढोका, सुन्धारा, नयाँ सडक हुँदै रत्नपार्कस्थित शान्तिवाटिकामा पुगी कोणसभामा परिणत भएको थियो ।प्रभातफेरीमा नेपाल पत्रकार महासङ्घ काठमाडौँ, ललितपुर, भक्तपुर, नेपाल टेलिभिजन प्रतिष्ठान, नेपाल खेलकुद पत्रकार मञ्च (एसोसिएट संस्था) लगायतका प्रतिष्ठानले व्यानर र तुलसहित सहभागिता जनाएका थिए ।कोणसभामा महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले श्रमजीवी पत्रकारको भौतिक सुरक्षासँगै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै सम्पूर्ण पत्रकारको अधिकारका लागि महासङ्घ लागिरहेको बताउनु भयो ।नेपाल प्रेस काउन्सिलका अध्यक्ष वोर्णबहादुर कार्कीले मुलुक सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिएको हुँदा जिम्मेवार र उत्तरदायी भूमिका खेल्न पत्रकारलाई आग्रह गर्नु भयो ।
महासङ्घका पूर्वअध्यक्ष होमनाथ दाहालले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै लोकतान्त्रिक संविधान जारी गराउन सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो । प्रभातफेरीमा महासङ्घका पूर्वअध्यक्षहरु हरिहर विरही, सुरेश आचार्य, विष्णु निष्ठुरी, सल्लाहकार पोषण केसी र राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष कुलचन्द्र वाग्लेको सहभागिता थियो ।साठिऔँ वार्षिकोत्सवको अवसरमा काठमाडौँ शाखाले आइतबार आयोजना गरेको रक्तदान कार्यक्रममा ३१ पत्रकार तथा सञ्चारकर्मीले रक्तदान गर्नुभएको थियो । वार्षिकोत्सवको अवसरमा महासङ्घले नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राङ्गणमा आज दिउँसो चियापान कार्यक्रमको आयोजना गरेको छ ।








