अस्ट्रेलियामा श्री नापितको अध्यक्षतामा लिवरल फ्रेण्ड्स अफ नेपाल गठन गरिएको छ । अष्ट्रेलियन लिवरल पार्टीको शाखाका रुपमा यो संगठन गरिएको हो । लिवरल फ्रेण्डस् अफ नेपालको नेतृत्व सिड्नीका नेपाली समूदायका अगुवा श्री नापितले गर्नुहुने भएको छ । मार्च २२ तारिख आइतबार कोग्रामा आयोजना गरिएको पत्रकार सम्मेलन गरेर यो संगठन सत्तारुढ लिवरल पार्टीको एउटा विभाग नै हुने जानकारी दिइयो । यसको संरक्षकमा संघीय मानवीय सेवामन्त्री तथा सिनेटर मोरिस पेइनी रहनु भएको छ भने लिवरल पार्टी इलेक्ट्रोरल एसिस्टेन्ट कमिटी अध्यक्ष रोबट ओरल सल्लाहकार हुनुहुन्छ । कार्यक्रममा अध्यक्ष श्री नापितले नेपालबाट आएर अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरु र लिबरल पार्टीका नेताहरुबीचको दूरीलाई घटाउने र लिबरल पार्टीका नेताहरुलाई नेपाल र नेपालीहरुको पहिचान गराउने उद्देश्यले संस्था खोलिएको बताउनुभयो ।
उहाले संगठनले नेपाल र अष्ट्रेलियाबीचको दौत्य सम्बन्ध मजबुत बनाउने, लिबरल सिद्धान्तलाई समर्थन गर्नेहरुको एउटा साझा मञ्चको रुपमा काम गरिने जानकारी दिनु भयो । लिवरल फ्रेण्डस अफ नेपालका अन्य पदाधिकारीहरुमा न्यू साउथवेल्सको दक्षिण क्षेत्रबाट विवेक थापा, उत्तर पश्चिम क्षेत्रबाट विजय फुयाल, इनर वेष्ट क्षेत्रबाट निरज श्रेष्ठ, पश्चिम सिड्नीबाट डा. घनश्याम चापागाई, पूर्वी सिड्नी क्षेत्रबाट भीम खरेल र युवा पुस्ताको तर्फबाट प्रमेज श्रेष्ठ रहनु भएको छ । लिबरल पार्टीको न्यू साउथवेल्सको वार्षिक साधारणसभामा पार्टीका प्रमुख क्रिस डाउनीले लिबरल फ्रेण्डस अफ नेपाल घोषणा गर्नु भयो । संयोजक नापितले यो कार्यलाई आफुले ठुलो उपलब्धी सम्झेको र यो एउटा संगठनको रुपमा अघि बढ्ने जानकारी दिनु भयो । नेपालीहरुले नेपालको राजनीतिलाई भन्दा पनि यहाँ अष्ट्रेलियाको राजनीतिमा संलग्न हुनुले नेपालीलाई फाईदा पुग्ने उहाको भनाई थियो ।







