भारतीय नगरमा बलात्कारका आशङ्कितलाई भीडले मारेपछि कर्फ्यु आदेश

नयाँ दिल्ली,भारतको उत्तरपश्चिमी नगरमा बलात्कारका एक आशङ्कितलाई भीडले कारागारबाट बाहिर ल्याई मारेपछि तथा प्रहरीको गोली प्रहारमा अर्का एक व्यक्तिको मृत्यु भएपछि अधिकारीहरूले शुक्रबार कर्फ्यु आदेश जारी गरेका छन् ।

एक महिलालाई अनेकौँपटक बलात्कार गरेको आशङ्कामा फेब्रुअरीको अन्त्यतिर पक्राउ परेका ती आशङ्कितलाई बिहीबार नागाल्यान्ड राज्यको दिमारपुर नगरमा रहेको कारागारबाट भीडले बाहिर ल्याइ कुटपिट गरी, मारी एक घण्टाघरमा बाँधिदिएको थियो ।
भीडमा संलग्न भएको आशङ्का गरिएका एक युवकलाई गोली लागेको र पछि सोही चोटका कारण उनको अस्पतालमा मृत्यु भएको दिमापुरका प्रहरी सुपरिन्टेन्डेन्ट मेरेन जमिरले बताउनुभयो ।
उहाँले प्रहरीले परिस्थिति नियन्त्रणमा ल्याउन प्रयास गरिरहेको बताउनुभयो ।
उन्नाइस वर्षीया एक आदिवासी महिलालाई आक्रमण गरेको आरोप लागेका यी बलात्कारका आशङ्कितलाई फेब्रुअरी २४ मा प्रहरीले पक्राउ गरेपछि त्यहाँ तनाव बढिरहेको बताइएको छ ।
नागाल्यान्डका मुख्यमन्त्री टी.आर. जेलियाङले यी आशङ्कित व्यक्ति बङ्गलादेशका आप्रवासी भएको र निजको हत्या भएपछि त्यहाँ बङ्गलादेशी आप्रवासीले सञ्चालन गरेका व्यापारमाथि पनि आक्रमण भएको बताउनुभयो ।
नागाल्यान्डका आदिवासीले छिमेकी बङ्गलादेशबाट गैरकानुनी रूपमा आएर बसोबास गरिरहेका बङ्गाली भाषा बोल्ने जनसङ्ख्याको वृद्धि भइरहेको र उनीहरूले आफ्नो भूमि तथा स्रोत उपभोग गरिरहेको आरोप वर्षौँदेखि लगाउने गरेका छन् ।
प्रहरी अधिकारी जमिरले परिस्थित निकै तनावपूर्ण रहेको र तर आफूहरूले व्यवस्था पुनःस्थापना गर्न प्रयास गरिहेको जानकारी दिनुभयो ।उहाँले हाल सडकमा दङ्गा नियन्त्रक प्रहरीले गस्ती गरिरहेको जानकारी दिनुभयो ।
आशङ्कित व्यक्तिको हत्याका विषयमा अनुसन्धान भइरहेको मुख्यमन्त्री जेलियाङले बताउनुभयो ।
उहाँले परिस्थितिमा सुधार नभएसम्म कर्फ्यु निरन्तर रहने बताउनुभयो ।
सन् २०१२ को डिसेम्बरमा एक छात्रामाथि भएको बलात्कारका विषयमा तयार भएको वृत्तचित्रको सरकारले प्रसारणमा रोक लगाएपछि विवाद चलिरहेको समयमा यो हिंसा भएको हो । एएफपी

सम्बन्धित शिर्षकहरु