फागुन २१ ।काठमाडौँ,अर्थमन्त्री डा रामशरण महतले विकास निर्माण तथा पूर्वाधारका कामलाई बढी प्राथमिकता दिने गरी आगामी आर्थिक वर्षको बजेट वैशाखभित्र पेस गर्न निर्देशन दिनु भएको छ ।बजेट महाशाखासहित मन्त्रालयका वरिष्ठ कर्मचारीसँग आज भएको छलफलमा उहाँले विकास निर्माण तथा पूर्वाधारका काम पूरा गर्दै जाने सोचका साथ आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्न निर्देशन दिनुभएको हो ।
उहाँले बजेट निर्माणमा कार्यसूची बनाएरै तयारीका काम अगाडि बढाउनुपर्ने सुझाव दिनु भयो । अर्थमन्त्री महतले अन्य मन्त्रालयसँग कार्यक्रम र बजेटको प्रस्ताव माग्न पनि आग्रह गर्नुभयो ।जथाभावी कार्यक्रमहरु समावेश नगर्न सुझाउँदै उहाँले सम्भाव्यता अध्ययन भइसकेका र कार्यान्वयन गर्न सकिने कार्यक्रम अगाडि बढाउनुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले भन्नुभयो, “टुक्रे कार्यक्रमहरुलाई बजेटमा धेरै ठाउँ नदिनोेस् ।”
काठमाडौँ र तराईलाई जोड्ने द्रुतमार्गको सम्झौता अगाडि बढाउनुपर्ने तथा विकास निर्माणका लागि छुट्याएको बजेट निकासामा अर्थमन्त्रालयका तर्फबाट कुनै ढिलाइ नगर्न भन्दै खर्च भए नभएको निगरानी गर्न सम्बन्धित पदाधिकारीलाई निर्देशन दिनुभएको उक्त मन्त्रालयले जनाएको छ ।
छलफलका क्रममा अर्थसचिव सुमनप्रसाद शर्मा, मन्त्रालयअन्तर्गतका सबै महाशाखाका प्रमुखको सहभागिता रहेको थियो ।








