एमाले केन्द्रीय कमिटीमा ८ जना वैकल्पिक सदस्यमा मनोनयन

काठमाडौँ, नेकपा एमाले केन्द्रीय कमिटीको वैकल्पिक सदस्यमा ८ जनालाई मनोनयन गर्ने भएको छ ।

स्थायी कमिटीको मंगलबारको बैठकले खगेन्द्र चुँडाल, देवशङ्कर पौडेल, मानबहादुर जिसी, रूपनारायण श्रेष्ठ, झपट रावल, प्रल्हाद गिरी, डा देउमान सम्बाहाम्फे र भाष्कर काफ्लेलाई वैकल्पिक सदस्यमा मनोनयन गर्ने निर्णय गरेको हो । उहाँहरुमध्ये गिरी एमाओवादीबाट तथा डा सम्बाहाम्फे र काफ्ले नेकपा (माले) बाट पुनः एमाले प्रवेश गर्ने नेता हुनुहुन्छ । यो निर्णयसँगै एमाले केन्द्रीय समितिमा १८० जना पुगेको छ ।
बैठकपछि एमालेका महासचिव ईश्वर पोखरेलले जारी गरेको विज्ञप्तिमा पुनः एमाले फर्कनुभएकालाई पार्टी विधानको धारा ६७ (४) बमोजिम मनोनयन गरिएको हो । सो दफाअनुसार एकता प्रक्रियाबाट आउनेलाई २० प्रतिशतभन्दा बढी सङ्ख्यामा मनोनयन गर्न सकिनेछ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा गठित शीर्ष नेता सम्मिलित कार्यदलको सुझावका आधारमा ती नाम स्थायी कमिटीले पारित गरेको हो । यसअघि यही फागुन १३ गतेको स्थायी कमिटीले १० नेतालाई केन्द्रीय कमिटीको पूर्ण सदस्यमा मनोनयन गरेको थियो भने यही फागुन १७ गतेकोे बैठकले राधाकृष्ण मैनाली र विजय सुब्बालाई मनोनयन गरेको थियो ।
गत असारमा सम्पन्न पार्टीको नवौंँ महाधिवेशनपछि केन्द्रीय सदस्यको कार्यविभाजनका विषयमा भने स्थायी कमिटीले निर्णय गर्न बाँकी छ । बैठकमा संविधान निर्माण र समसामयिक राजनीतिका विषयमा पनि छलफल भएको थियो । सत्तारूढ नेपाली काँग्रेस र एमालेका शीर्ष नेताबीच आजै द्विपक्षीय वार्ता हुँदैछ ।

सम्बन्धित शिर्षकहरु