फागुन १३ ।चौतारा, नेत्र विक्रम चन्द बिप्लव नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको बन्दका कारण सिन्धुपाल्चोकको जनजीवन प्रभावित भएको छ ।भोटेकोशी पावर कम्पनी र पाँच राजनीतिक दलबीच भएको ६ बुँदे सहमती खारेजीको माग गर्दै उनीहरुले बन्दको आह्वान गरेको हो । बन्दका कारण आज बिहानैदेखि सिन्धुपाल्चोकबाट कुनै पनि सवारीसाधन काठमाडौ भित्रिएका छैनन् भने काठमाडौबाट पनि सिन्धुपाल्चोक आउन सकेका छैनन् ।
बन्द सफल पार्न भन्दै माओवादीका कार्यकर्ताहरु चोकचोकमा जम्मा भएका छन् ।आयोजनाले दिने शेयर कुनै राजनीतिक दल विशेषलाई नभई समानुपातिक ढङगबाट लक्षित बर्गसम्मको पहुँच पुग्ने गरी बितरण गरिनु पर्ने, डलरमा भएको पिपीए सम्झौता तत्काल खारेज गरी सर्वसुलभ विद्युत सेवा उपलब्ध गराउनु पर्ने तथा स्थानीयलाई ६ प्रतिशत नभई २० प्रतिशत सेयर दिनुपर्ने माग पनि गरेका छन् ।
गत पुस ९ गते भोटेकोशी कम्पनी र ५ राजनीतिक दलबीच स्थानीयलाई ६ प्रतिशत सेयर दिने गरी कम्पनी र राजनीतिक दलबीच भएको सहमति जनविरोधी र जनघाती भएको भन्दै सहमती खारेजी गर्न माओवादीले दवाव दिएको हो ।








