फागुन ११ ।ढाका, उत्तर पश्चिम बंगलादेशमा यात्रीले भरिएको डुंगा नदीमा डुब्दा कम्तीमा पनि ६५ जनाले ज्यान गुमाएका छन् ।
मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेको बंगलादेशी अधिकारीहरुले बताएका छन् । अझै धेरै यात्रु हराइरहेको बताइएको छ। क्षमताभन्दा अधिक यात्री लिएर जाँदै गरेको डुंगालाई मालबाहक पोतले ठक्कर दिएपछि नदीमा डुबेको बताइएको छ।
मानिकगन्ज जिल्लाका एक जना बरिष्ठ प्रहरी अधिकारीले बताएअनुसार डुंगा राजबाडीको दोलतदियाबाट पटुरियाका लागि जाँदै थियो । डुंगालाई माछा मार्ने मालबाहक अर्को डुंगाले ठक्कर दिएपछि यो दुर्घटना भएको हो ।
ढाका ट्रिब्युनले जनाए अनुसार दमकल विभागका उपसहायक निर्देशक अब्दुल हलिमले ४८ जनाको शव फेला परेको छ ।
यात्रुबाहक डुंगालाई ठक्कर दिने मालबाहक डुंगाका कप्तान र चालक दलका अन्य दुई सदस्यलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। द डेली स्टार समाचारपत्रले जनाएअनुसार मारिनेमा एउटा ६ महिनाकी बालिकासहित अन्य ६ जना बालबालिका र ११ जना महिलासमेत छन् । ६ महिनाकी बालिकालाई पद्या नदीबाट निकालिएको थियो, उनलाई अस्पताल पुराएपछि मृत घोषणा गरिएको हो ।
गत अगस्तपछि बंगलादेशमा भएको यो सबैभन्दा ठुलो दुर्घटना हो । गत अगस्तमा एउटा डुंगा नदीमा बुन्दा करिब १३० जनाको मृत्यु भएको थियो ।
फेब्रुअरी १३ मा मात्रै एउटा डुंगा पैरा नदीमा डुब्दा कम्तीमा पाँच जना मारिएका थिए । उक्त डुंगामा दुई सय बढी तीर्थयात्री सवार थिए । यस्तै गत महिना प्रवासीहरुलाई मलेसिया लिएर जाँदै गरेको डुंगा बंगलादेशको नजिक बंगालको खाडीमा डुब्दा आठ जना मारिएका थिए । उक्त डुंगामा कति यात्री थिए भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन । एजेन्सी








