फागुन ८ ।काठमाडौं, नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले विगतको जस्तो संविधानसभालाई कुनै पनि हालतमा अवसान हुन नदिने बताउनु भएको छ । उहाले सकेसम्म सहमतिबाटै नभए प्रक्रियाबाटै भएपनि संविधान जारी हुने विश्वास व्यक्त गर्नु भयो ।
दाङको घोराहीमा शुक्रबारदेखि सुरु भएको प्रेस चौतारी नेपालको राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष ज्ञवालीले एमाओवादी नेतृत्वको ३० दलीय मोर्चालाई टुंडिखेलको मञ्चमा गएर कराउँदैमा संविधान नबन्ने भन्दै संविधान संविधानसभाबाटै संविधान जारी हुने स्पष्ट पार्नु भयो ।
आफ्नो पार्टी विगतमा भएका सबैखाले सहमति तथा सम्झौताहरुको पूर्ण रक्षाका लागि प्रतिबद्ध रहेको भन्दै सहमतिको लागि विपक्षी मोर्चा लचकताका साथ प्रस्तुत हुनुपर्ने जिकिर गर्नु भयो ।
उहाले पत्रकारिताको माध्यमबाट महिलाहरुको सुरक्षा र उत्साहमा भूमिका खेल्नुपर्ने बताउनु भयो ।
प्रेस चौतरी महिला विभाग प्रमुख शान्ति गुरुङका अनुसार भेलामा देशभरका गरि एक सय बढी महिला पत्रकारहरुको सहभागीता रहेको छ । भेलामा नेपालमा महिला पत्रकारको अवस्था, चुनौति, व्यवसायिक सुरक्षालगायतका विषयमा व्यापक छलफलपछि दाङ घोषणा पत्र जारी गरिने गुरुङले जानकारी दिइन् ।
प्रेस चैतारीका अध्यक्ष राजेन्द्र अर्यालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा एमालेका नेता प्रकाश ज्वाला, केन्द्रीय सदस्य खेममान खड्का, चौतारीका महासचिव माधव नेपाल, नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष सुर्यमणि गौतम, एमाले दाङका अध्यक्ष जोगबहादुर राना, चौतारीका अञ्चल इन्चार्ज सविन प्रियासन लगायतले भेलालाई सम्बोधन गरेका थिए ।








