फागुन ६ । चरमपन्थी संगठन इस्लामिक स्टेट (आइएस)ले इराकमा ४५ जनालाई जिउँदै जलाएर हत्या गरेको छ ।
मारिनेहरु को थिए र किन मारिए भन्ने बारेमा स्पष्ट भइनसकेको इराकको अल–बगदादी प्रहरी प्रमुखले अन्तर्राष्ट्रिय संचार माध्यमलाई जानकारी दिएका छन् । मारिनेमा अधिकांश सुरक्षाकर्मी रहेको हुन सक्ने कर्णेल कासिम अल ओबेदीले बताएका छन् ।
कर्णेल ओबेदीका अनुसार आईएसले जुन स्थानमा सुरक्षाकर्मी र स्थानीय अधिकारीका परिवारको निवास थियो, त्यही आक्रमण गरेका थिए । उनले अन्तर्राष्ट्रिय समुदाय र सरकारसँग सहयोगको याचनासमेत गरेका छन् ।
आईएस लडाकुले गत साता मात्र अल–बगदादीका अधिकांश क्षेत्र कब्जा गरेका थिए । यो क्षेत्र अल–असदमा रहेको अमेरिकी सैन्य बदलको आधार शिविरभन्दा मात्र ८ किलोमिटरको दूरीमा छ ।
गत साता आइएसको कब्जामा जानुअघि अल बगदादी अनबार प्रान्त एउटा मात्र त्यस्तो क्षेत्र हो जुन इराक सरकारको नियन्त्रण थियो । यस क्षेत्रमा संचार अवरोध र लडाईका कारण समाचार पुष्टि गर्न समस्या रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
यही महिनाको सुरुवातमा आइएसले एउटा भिडियो जारी गर्दै जोर्डनका एक पाइलटलाई जलाउँदै गरेको देखाएका थिए । गत डिसेम्बरमा सिरियाबाट पाइलटलाई अपहरण गरिएको थियो ।








