विद्रोहीद्वारा यमनको सत्ता कब्जा

माघ २४ ।यमन, यमनमा हुती विद्रोहीले संसद भंग गरेर आफूहरुले सत्ता हातमा लिएको घोषणा गरेका छन् । यो समूहले सेप्टेम्बरमा सेनामाथि कब्जा गरेर राष्ट्रपति आबेद राब्बो मंसुर हादीलाई जनवरीमा राजीनामा दिन बाध्य बनाएको थियो ।

सत्ता कब्जा गरेको घोषणासँगै यो शिया चरमपन्थी समूहले राजधानी सनाबाट टेलिभिजनमा प्रसारित सन्देशमा आफूहरुले १५१ सदस्यीय एउटा काउन्सिल गठन गरेको जनाएको छ।
यो काउन्सिलले आगामी दुई वर्षसम्म अन्तरिम सरकारलाई सल्लाह दिनेछ । विद्रोहीको यो घोषणा संयुक्त राष्ट्रसंघको शान्ति वार्ता प्रयास विफल भएपछि गरिएको हो ।
विद्रोहीले ५५१ सदस्यीय संसद बनाउने घोषणासमेत गरेको छ। संसदको चुनाव विद्रोहीको क्रान्तिकारी समितिले गर्नेछ ।
हुती विद्रोहीका एक अज्ञात प्रतिनिधिले यो घोषणा गरेका हुन् । उनले यमनका लागि यो एउटा नयाँ युगको सुरुवात भएको बताएका छन् । उनले यसले यमनलाई सुरक्षित राख्ने दावीसमेत गरेका छन् । योसँगै यमनमा कयौ महिनादेखि चलेको सत्ता संघर्ष तत्कालका लागि शान्त भएको ठानिएको छ ।

 

सम्बन्धित शिर्षकहरु