विधि र प्रक्रियाबाटै संविधान निर्माण हुन्छ :उपप्रधानमन्त्री सिंह

माघ १८ ।काठमाडौँ,उपप्रधानमन्त्री प्रकाशमान सिंहले अघिल्लो संविधानसभाबाट संविधान बनाउन नसकिएपनि अब विधि र प्रक्रियाबाटै संविधान जारी हुने बताउनुभएको छ ।
डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ३५औँ वार्षिकोत्सवको आइतबार उद्घाटन गर्दै उहाँले अहिलेको संविधानसभाबाट जसरी पनि संविधान ल्याउनैपर्छ भन्दै सकेसम्म सहमति नभए विधि र प्रक्रियाबाट संविधान जारी गर्ने बताउनु भएको छ । सङ्घीय मामिला तथा स्थाीनय विकासमन्त्री सिंहले संविधानसभा नियमावली विधि र प्रक्रियाअनुरुप अघि बढ्दा विपक्षी दलले बाधाव्यवधान खडा गर्नु भनेको जनताको अपमान हो भन्दै यसले उनीहरुलाई नै घाटा हुने विचार व्यक्त गर्नुभयो ।
गुणस्तरीय उच्च शिक्षा प्रदान गर्न क्याम्पसले खेलेको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्दै उहाँले आजको प्रतिस्पर्धी जमानामा रोजगारमूलक गुणस्तरीय शिक्षाका लागि सरोकार भएकाहरुको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सभासद्द्वय सावित्रा भुसाल र विक्रम थापा तथा पूर्वमन्त्री होमनाथ दाहाल र पत्रकार देवेन्द्र गौतम तथा क्याम्पस प्रमुख अपराजिता अर्यालले विद्यालयले नारी शिक्षामा पहुँच अभिवृद्धिका लागि महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । कार्यक्रममा विभिन्न प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिनाका साथै विद्यालयद्वारा प्रकाशित ‘पुष्पाञ्जलि’ स्मारिकाको विमोचन गरिएको थियो ।

सम्बन्धित शिर्षकहरु