नेपालमा संविधान निर्माणमा संविधानसभाध्यक्ष सुवास नेम्वाङले खेलेको भूमिकाको विरोध गर्दै विपक्षी राजनीतिक दलका भ्रातृ संगठनहरुले सिड्नीमा उहाको पुत्ला जलाएका छन् । ६६ प्रिन्सेस स्ट्रिट क्यान्टबरीमा उनीहरुले नेम्वाङको पुत्ला दहन गरेका हुन् ।नेम्वाङले पहिचान पक्षधरहरुलाई अन्याय गरेको भन्दै पुत्ला जलाउने संगठनहरुमा संघीय समाज अष्ट्रेलिया,नेपाल जनप्रगतिशील मञ्च अष्ट्रेलिया,संघीय लिम्बुवान पार्टी, नेपाल आदिवासी जनजाति महासंघ अष्ट्रेलिया र तराई संघ थिए ।
कार्यक्रममा बोल्दै निन्फाका अध्यक्ष चित्र तुम्बाहाम्फेले अब नेपालमा विपक्षीहरुले सम्झौताहीन आन्दोलन गर्ने र त्यसलाई विदेशमा रहेका नेपालीहरुले पनि सहयोग गर्नुपर्ने बताउनुभयो । त्यस्तै संघीय समाज अष्ट्रेलियाका अध्यक्ष गणेश तामाङले अघिल्लो पटक संविधानसभाको बैठक बोलाइदिनुस् भन्दा पनि सहमति पहिला अनि मात्रै बोलाउँछु भन्ने संविधान सभाध्यक्षले यस पटक भने आफैंले प्रश्नावली समिति बनाएर पार्टीको एजेन्डा बोकेका कारण पुत्ला जलाउने अवस्था आएको बताउनुभयो । उहाँले नेम्वाङले आफ्नो मुहारमा लगाएको धब्बा मेटाउन गाह्रो हुने धारणा राख्नुभयो । नेपालको विपक्षी राजनीतिक दलका भ्रातृ संगठनहरुले एकताबद्ध भएर राजदूतमार्फत नेपाल सरकारलाई विरोधपत्र बुझाउने पनि तयारी गरेका छन् ।







