माघ ९ ।काठमाडौँ,नेपाली काँग्रेस,नेकपा एमाले लगायत सरकारलाई समर्थन गर्ने आठ दलले तत्काल विपक्षी दलसँग वार्ता नगर्ने निर्णय गरेको छ । ८ दलका नेताहरुको आज बसेको बैठकले संविधानसभाले प्रस्ताव (प्रश्नावली) समिति गठन गर्ने प्रस्ताव अघि नबढाएसम्म विपक्षी दलसँग वार्तामा नबस्ने निर्णय गरेको हो ।
बैठकमा सहभागी एमालेका महासचिव ईश्वर पोखरेलले संविधान निर्माणको प्रक्रियालाई अघि बढाउने विषयलाई नै आफूहरूले जोड दिएको बताउनुभयो ।
अहिले ती दलले सभाध्यक्ष सुवास नेम्वाङलाई समिति गठनको प्रस्तावलाई अघि बढाउन पुनः ध्यानाकर्षण गराउँदैछन् ।
संविधानसभाको माघ ५ गतेदेखिका बैठकमा सो समिति गठनको प्रस्ताव आएपछि एमाओवादी र मधेसकेन्द्रित दलले नाराबाजी र अवरोध गर्दै आएका छन् ।
बैठकमा सहभागी स्वतन्त्र सभासद् अत्तहर कमाल मुसलमानले सो प्रक्रिया अघि नबढेसम्म विपक्षी मोर्चासँग वार्तामा नबस्ने टुङ्गोमा आफूहरू पुगेको बताउनुभयो ।
गएराति ११ः४५ मा स्थगित भएको संविधानसभाको बैठक आज दिउँसो १ बजेका लागि निर्धारण गरिएकामा ३ बजेसम्म पनि सुरु हुन सकेको छैन ।
संविधानसभा भवन, नयाँ बानेश्वरमा अघिल्ला दिनमा झैँ बाहिरी प्रवेशद्वारदेखि नै कडा सुरक्षा व्यवस्था मिलाइएको छ ।








