पुस २४, काठमाडौँ – बिगत लामो समय देखि पुराना २ जहाज बाट अन्तरास्ट्रिय उडान धानिरहेको नेपाल वायुसेवा निगमले खरिद गर्न लागेको नयाँ एयरबस यहि माघ २४ गते काठमाडौं आइपुग्ने भएको छ।
नेपाल वायुसेवा निगमले एयरबस कम्पनीसँग खरिद सम्झौता गरेका दुई विमानमध्ये एक विमान फेब्रुअरी ६, २०१५ तदनुसार माघ २३, २०७१ शुक्रवार जर्मनको ह्यामबर्गमा हस्तान्तरण हुन लागेको छ।
हस्तान्तरण पश्चात उक्त विमान हयामबर्गबाट कतारको दोहा हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा माघ २४ मा अवतरण हुने कार्यक्रम रहेको निगमले जानकारी गराएको छ।
निगमले खरिद गर्न लागेका दुवै जहाज १५८ सीट क्षमताका रहेका छन् । जसमध्ये ८ वटा बिजनेश क्लास र १५० वटा इकोनोमी क्लासका सिट हुनेछन् । दुबै जहाजमा इन्टरनेशनल एरोइन्जिनका इन्जिनहरु जडान हुने निगमले जनाएको छ।
अहिले निगसँग अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा बोइङ रहेका छन् । भएका बोइङ मध्ये पनि एउटा उड्दा अर्को ग्राउन्डेड हुने समस्याले निगम पिरोलिएको छ । अहिले पनि एउटा बोइङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड अवस्थामा रहेको छ ।
एयरबस आएपछि निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि ४ वटा जहाज हुनेछन् । निगमले पछिल्लो समय आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका लागि जहाजहरु थपिरहेको छ । गत वैशाख १४ गते निगमले २८ वर्षपछि नयाँ जहाज त्रिभुवन विमानस्थलमा अवतरण गराएको थियो ।
आन्तरिक उडानका लागि चीनबाट ल्याइएको उक्त ‘एम-६०’ जहाजले अहिले व्यवसायीक उडान गरिरहेको छ ।








