पुस १३ । सवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन,२०७१ माथिको छलफलमा सत्तापक्षका सभासद्ले प्रक्रियामा गएर भएपनि संविधान जारी गर्नुपर्ने र प्रतिपक्षी दलका सभासद्ले सर्वस्वीकार्य सहमतिको संविधान बनाउनुको विकल्प नभएको अडान कायमै राखेका छन ।
संविधानसभाको आइतबारको बैठकमा सत्तापक्षका सभासद्ले यस्तो धारणा राखेका हुन ।
नेपाली काँग्रसका सरस्वती बजिमयले उक्त प्रतिवदेन अब समितिमा पठाउन नहुनेमा जोड दिँदै त्यसको छिनोफानो संविधानसभाको पूर्ण बैठकबाटै हुनुपर्ने माग गरे । काँग्रेसकै चन्द्रबहादुर कुँवरले देशलाई विदेशीको खेलौना बनाउनबाट जोगाउन पनि संविधानसभाबाटै माघ ८ गते संविधान जारी गर्नैपर्ने धारणा राखे ।
नेकपा (एमाले) का विकास लम्सालले सम्वाद समितिले विवादित विषयमा सहमति जुटाउन नसकेकाले पुनः सोही समितिमा प्रतिवेदन पठाउन नहुने, सहमतिको नाममा मुलुकलाई बन्धक बनाउन नहुने र तत्काल प्रक्रियामा जानुपर्ने धारणा राखे ।
एमालेकै सभासद्द्वय विश्रामप्रसाद चौधरी र जुनेद अन्सारीले माघ ८ गते संविधान जारी नभए जनताले माफ नदिने भएकाले सबै दललाई संविधान जारी गर्ने वातावरण बनाउन आग्रह गर्दै सम्वाद समितिमा प्रतिवेदन फर्काउन नहुने धारणा राखे ।
नेपाली काँग्रेसका सभासद् अब्दुल हमिद सिद्धिकीले संविधानको विवादित विषयमा सहमति नभएकाले प्रक्रियामा जानु पर्नेमा जोड दिए ।
तराई मधेश लोकतान्त्रिक पार्टीका सभासद् रमणि रामले सहमतिको आधारमा नै संविधान जारी हुनुपर्नेमा जोड दिँदै पुनः सहमतिका लागि सम्वाद समितिमा प्रतिवेदन पठाउनुपर्ने धारणा राखे ।
काँग्रेसका दिलमान पाख्रिनले मुलुकको सापेक्षतामा सबैले अपनत्व गर्ने संविधान जारी गर्नुपर्नेमा जोड दिँदै सहमति नभएका कारण प्रक्रियामा जान शीर्ष नेतालाई सुझाव दिए ।
एमालेका मिरा पोखरेल धुजुले सहमतिको नाममा विगत आठ वर्षदेखि मुलुक बन्धक बनेको धारणा राख्दै संविधानसभाबाटै विशेष व्यवस्था गरेर प्रक्रियामा गएर मुलुकको मूल कानुन लेखिनुपर्ने धारणा राखिन ।
एकीकृत नेकपा(माओवादी)का जुठबहादुर टुहुरे खड्गीले विगतका आन्दोलन र क्रान्तिलाई संस्थागत गर्नका लागि पनि सहमतिको आधारमा नै संविधान जारी हुनुपर्ने र प्रक्रियाको आधारमा अल्पमत र बहुमतको खेल नखेल्न आग्रह गरिन ।
एमाओवादीकै प्रकाशवाला राई र मानबहादुर थारुले प्रक्रियाको नाममा मुलुकलाई द्वन्द्वको भूमरीमा फसाउने चालबाजीलाई सफल हुन नदिने धारणा राखिन ।
एमालेका कृपाराम रानाले सहमतिकै आधारमा नै संविधान जारी हुनुपर्ने, प्रक्रियामा जान नहुने भन्दै आफ्नो दलको भन्दा फरक धारणा राखे ।
एमालेका दामोदर भण्डारी, काँग्रेसका डा गणेशकुमार मण्डलले तत्काल प्रक्रियामा गएर संविधान जारी गर्नुपर्नेमा जोड दिए । संविधानसभाको अर्को बैठक पुस १४ गते सोमबार(१४ गते) दिउँसो १ बजे बस्नेछ ।








