पुस १० ।काठमाडौँ, राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले इसाई धर्मावलम्बीको महान् पर्व क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन ।
राष्ट्रपति डा रामवरण यादवले सन्देशमा भनेका छन, ‘विविध जातजाति, भाषाभाषी, धर्म,संस्कृति, परम्पराहरूबाट समृद्ध हाम्रो मुलुकमा यस प्रकारका चाडपर्वहरूको संरक्षण र संबद्र्धनबाट देशमा आपसी विश्वास र सद्भावको अभिवृद्धि भई राष्ट्र निर्माण एवम् समुन्नत सामाजिक संरचनाको निर्माण गर्ने कार्यमा महत्वपूर्ण टेवा मिल्नेछ भन्ने मलाई लागेको छ ।
यस पर्वले सबै नेपालीबीच बान्धुत्व, प्रेम र एकताको भावना बढाउने कार्यमा सहयोग पुग्ने आशा व्यक्त गर्दै उनले शान्ति, समुन्नत तथा समृद्ध नेपाल बनाउन सबैलाई प्रेरणा प्राप्त होस् भन्ने कामना पनि गर्नुभएको छ ।
यसैगरी, उपराष्ट्रपति परमानन्द झाले क्रिसमस डेका अवसरमा एक सन्देश दिदै संविधानसभाको दोस्रो निर्वाचनपछि देशले जनचाहना अनुरूपको लोकतान्त्रिक संविधान प्राप्त गर्दै स्थिरता र समृद्धिको मार्गमा अघि बढ्न सकोस् भन्ने कामना गरेका छन ।
त्यसैगरी प्रधानमन्त्री सुशील कोइरालाले इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस’को सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गरेका छ्न ।
आफ्नो शुभकामना सन्देशमा प्रधानमन्त्री कोइरालाले भनेका छन,बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक पहिचान बोकेको भौगोलिक विविधतायुक्त नेपालमा सबै जातिका विभिन्न धर्म र संस्कृति अङ्गीकार गर्ने नागरिकबीच सदियौँदेखि सौहार्द सम्बन्ध रहिआएको छ । यही विविधता बीचको एकता हाम्रो राष्ट्रियताको सबल आधार बनेको छ । विभिन्न भौगोलिक क्षेत्रमा बसोबास गर्ने नेपालीमा रहेको जातीय, धार्मिक, सांस्कृतिक सहिष्णुताले मुलुकमा शान्ति र सद्भाव कायम गर्न सघाउँदै आएको पनि छ ।
शान्ति, सद्भाव, एकता र मेलमिलाप मुलुकमा लोकतन्त्रको संस्थागत विकास र आर्थिक सामाजिक विकासलाई गति दिने महत्वपूर्ण आधारका रूपमा विकसित पनि भइरहेको पनि सन्देशमा उहाँले उल्लेख गर्नुभएको छ ।
लोकतन्त्रको बहाली र निरङ्कुश राजतन्त्रको उन्मूलनका लागि भएको २०६२\६३ सालको जनआन्दोलनले पुनःस्थापित गरेको प्रतिनिधिसभाले मुलुकमा धार्मिक स्वतन्त्रताको घोषणा गरेपछि यसलाई वर्तमान अन्तरिम संविधानले लिपिबद्ध गरी संस्थागत गरेको स्मरण गराउँदै उहाँले भन्नुभएको छ – “धार्मिक स्वतन्त्रता नागरिकका मौलिक हकका रूपमा स्थापित भइसकेको छ ।”
नेपाली जनताले विगत ६ दशकभन्दा लामो समयदेखि गरेका आन्दोलन र सङ्घर्षबाट प्राप्त सङ्घीयता, गणतन्त्र, समावेशितासहितको लोकतन्त्रलाई संस्थागत गर्ने संविधान संविधानसभाबाट निर्धारित समयमा ल्याउन यस दिवसले सबैलाई प्रेरणा दिन सकोस् भनी उनले कामना पनि गरेका छन ।








