गएराति गएको भुकम्पमा मानवीय र ठूलो भौतिक क्षति नभएको अनुमान

मंसिर ४ । गएराती करिब ३ पटकसम्म भूकम्पको धक्का महसुस भएको भूकम्प मापन केन्द्रले जनाएको छ । बिहीबार राति काठमाडौँ उपत्यकासहित देशका धेरै क्षेत्रमा भूकम्पको धक्का महसुस गरिए पनि त्यसबाट मानवीय र ठूलो भौतिक क्षति नभएको हुन सक्ने अनुमान गरिएको छ ।

बिहीबार राति ९ बजेर १८ मिनेटमा गएको काठमाडौंबाट एक सय २३ किलोमिटर पूर्वस्थित सोलुखुम्बुको खुम्जुङ क्षेत्रलाई केन्द्र बनाएर गएको भूकम्पले के कति र कस्तो क्षती पुऱ्यायो भन्ने कुनै खबर हाल सम्म स्पष्ट खबर प्राप्त नभएको नेपाल प्रहरीका प्रवक्ता डिआईजी माधव जोशीले बताए ।

सोलुखुम्बु जिल्लाको उत्तरी भेग र दोलखाको सिमाना नजिक ५ दशमलव ९ रेक्टरको भूकम्प मापन गरिएको भूकम्प मापन केन्दले जनाएको छ ।

युरोपेली–भूमध्यसागरीय भूकम्प मापन केन्द्रका अनुसार काठमाडौँबाट १ सय २३ किमी पूर्व र नाम्चेबजारबाट २१ किमी उत्तरपश्चिम दिशामा सतहबाट १० किमी गहिराइमा भूकम्पको केन्द्रविन्दु रहेको थियो । करिब ३ पटकसम्म भूकम्पको धक्का महसुस भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

मध्यपश्चिम र सुदूरपश्चिम बाहेकका बाँकी नेपाली भू–भागमा भूकम्पको धक्काको महसुस गरिएको प्रवक्ता डिआईजी जोशीले बताए । उनका अनुसार हाल सम्म खबर केही नआएकाले मानवीय र ठूलो भौतकि क्षति नभएको हुन सक्ने अनुमान गरिएको छ ।

भूकम्पले भारतको उत्तर प्रदेश र बिहार राज्य तथा चीनको भूभागमा पनि हल्लाएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार बिहारको राजधानी पटना र अन्य सहरहरु दरभंगा, मुजफरपुर, मधुबनी र सुपौलमा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पले भारतको उत्तर प्रदेश र बिहार राज्यमा विभिन्न क्षेत्र समेत हल्लाएको थियो ।

मंसिर ९ गते राति ४ दशमलव ५ म्याग्नीच्यूटको भूकम्प गएको थियो ।

सम्बन्धित शिर्षकहरु