मंसिर २८ । काठमाडौं, एकीकृत नेकपा माओवादीले वर्तमान पदाधिकारी विघटन गरी महाधिवेशन आयोजक समिति बनाउने निर्णय गरेको छ ।
एमाओवादीको केन्द्रीय समितिको बैठकका लागि एजेन्डा तय गर्न आइतबार बिहान लाजिम्पाटमा बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी विघटन गरी महाधिवेशन आयोजक समिति बनाउने निर्णय गरेको छ ।
आयोजक समिति बनेपछि पदाधिकारीको विकल्पमा ‘कार्यालय टिम’ बन्ने छ ।
स्थायी कमिटी बैठकले केन्द्रीय समितिको बैठकका एजेण्डा पारित गरेको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष नारायणकाजी श्रेष्ठले महाधिवेशन आयोजक समिति बनाउने, पार्टीलाई एकताबद्ध बनाउने, शान्ति र संविधानलाई पूर्णता दिने लगायतका एजेण्डा तय गरिएको एमााओवादीले जनाएको छ ।
प्रचण्डले केन्द्रीय समिति बैठकमा हालको केन्द्रीय समिति विघटन गरी महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्ने प्रस्ताव पेश गरेको भए पनि कार्यविभाजनको प्रस्ताव भने अर्को वैठकमा मात्रै पेश हुने भएको छ ।
केन्द्रीय समिति विघटन भए जिल्ला समितिहरु पनि स्वतः विघटन भई सम्मेलन आयोजक समितिमा रुपान्तरण हुने बताइएको छ ।
अहिले संविधान निर्माणमा ध्यान दिनुपर्ने भएकाले यही बैठकबाट कार्यविभाजन गर्न नभ्याइने प्रचण्डको प्रस्तावमा उल्लेख छ । त्यसैले अहिले महाधिवशेन आयोजक समिति बनाएपछि संविधानमा केन्द्रित हुने र अर्को बैठकबाट कार्यविभाजन गर्ने प्रचण्डको प्रस्ताव छ ।
शुरुमा पुष महिनाभरि एक महिने प्रशिक्षण अभियान चलाउने प्रचण्डले बुँदागतरुपमा तयार पारेको प्रस्तावमा उल्लेख छ ।
पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेदेखि बस्ने भनिएको केन्द्रीय समिति बैठक केही दिनसम्म चल्ने नेताहरुले बताएका छन् ।
पार्टी प्रवक्ता शर्माले ‘बैठकमा अध्यक्ष प्रचण्डले संविधान निर्माण, शान्ति प्रक्रिया, पार्टीको आगामी कार्यक्रमबारे तयार पारिएको राजनीतिक प्रतिवेदन पेस गरेपछि त्यसमा विस्तृत छलफल गर्ने जानकरी दिनु भयो ।
अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता बाबुराम भट्टराईबीच रहेको वैचारिक विवादलाई समाधान गर्ने तथा वैद्य माओवादी लगायत अन्य समूहसँग एकताका लागि ठोस प्रस्ताव ल्याउने माओवादीको तयारी छ ।
बैठकका लागि प्रचण्डले तयार पारेको प्रस्तावमा सहमतिबाटै संविधान निर्माणको प्रयास गर्ने तर सहमति नभए आन्दोलनमा जाने उल्लेख छ ।
केही नेताहरुले नेतृत्व हस्तान्तरणको हतार नगर्न अध्यक्ष प्रचण्डलाई दवाब दिएका छन् । आगामी महाधिवेशनबाट बाबुराम भट्टराईलाई नेतृत्व हस्तान्तरण गर्ने गृहकार्य चलिरहेका बेला दोस्रो तहका नेताहरुले नेतृत्व हस्तान्तरणको हतार गर्न नहुने बताएका हुन् ।
नेतृत्व हस्तान्तरणले कम्युनिष्ट पार्टीहरुबीचको एकता प्रक्रियालाई पनि असर पार्ने भन्दै कतिपय नेताहरु महाधिवेशनपछि पनि प्रचण्डकै नेतृत्व हुनुपर्ने पक्षमा छन् ।








