मंसिर २६ । काठमाडौ, प्रधानमन्त्री शुशील कोइरालाले शिक्षा क्षेत्रका प्रतिनिधिहरुले पनि मुलुक र जनताको सेवामा समर्पित भएर लागि पर्न जरुरी भएको बताउनु भएको छ ।
विश्वविद्यालय धुलिखेलको २० औँ दीक्षान्त समारोहमा बोल्दै उहाले मुलुकको विकासका लागि ढोका खुलेको उल्लेख गर्दै मुलुक कसरी बनाउने भन्ने विषयमा चिन्ता गर्न युवा विद्यार्थीलाई सल्लाह दिनु भयो ।
काठमाडौँ विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री कोइरालाले अनेक यातना सहेर यो आफू यो स्थितिसम्म आइपुगेको कुरा गौरबको विषय भएको भन्दै शिक्षालाई मुलुक र जनताको सेवामा समर्पित गर्न जरुरी भएको बताउनु भयो ।
उहाले अर्को फरक प्रसङ्गमा संविधान निर्माणका लागि संवाद, सहमति र सहकार्य दलहरुको बीचमा भइरहेको जिकिर गर्दै अखवारहरुले भ्रम फैलाएको आरोप लगाउनु भयो । ।
विश्वविद्यालयका उपकुलपति डा रामकण्ठ माकजुले विभिन्न चुनौती हुँदाहुँदै पनि देशका युवाका लागि अवसरका नयाँ सम्भावना सुनिश्चित हुने कार्यक्रम विस्तारका दिशामा प्रयत्नशील भएको उल्लेख गर्नु भयो । उहाले भन्नु भयो , “हामीसँग कडा मिहिनेत र सहकार्य गर्ने संस्कार छैन, सफलताप्रतिको चाहना र उत्साह पनि छैन भनेर हामी स्थापित गर्न खोज्छौँ ।”
प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएका वरिष्ठ लोकसंस्कृतविद् डा। सत्यमोहन जोशी स्वास्थ्यका कारण अनुपस्थित रहेको सो कार्यक्रममा उहाको दीक्षान्त भाषण प्रा। सञ्जयनाथ उपाध्यायले बाचन गर्नु भयो । सो भाषणमा शिक्षा र संस्कृति भिन्नाभिन्नै विषय भए पनि दुईबीचको अन्तर सम्बन्धले हाम्रो शिक्षा प्रणालीमा नयाँ आलोक ल्याइदिन्छ भन्ने उल्लेख छ ।
विभिन्न विधाका कुल एक हजार २४६ जना स्नातक दीक्षित भएको सो कार्यक्रममा चान्सलर स्वर्णपदक र जुद्धबहादुर स्वर्ण पदकबाट स्कुल अफ म्यानेजमेन्टकी श्रद्धा पन्त, भाइसचान्सलर स्वर्ण पदकबाट स्कुल अफ आर्टसका रविन डङ्गोल र रणबहादुर शाह स्वर्ण पदकबाट स्कुल अफ म्यानेजमेन्टकी विद्या शर्मालाई प्रदान गरिएको थियो ।
यसअघि चिकित्सक विधाका १ हजार ३७ जना दीक्षित भएका थिए ।








