वीरगन्ज,नँया यान्त्रिक प्रविधिको सहायताले कृषि उत्पादनका लागि प्रसिद्ध मानिएका मध्य तराईका बारा, पर्सा र रौतहटका कृषकले छिटो र सहज रुपमा धान भित्र्याउन पाएका छन ।
उनीहरुले यतिखेर धान भित्र्याउन नँया यान्त्रिक प्रविधि (उपकरण)को प्रयोग गर्न थालेका छन् ।नँया यान्त्रिक प्रविधि (कम्बाइन हार्भेष्टर) ले धान भित्र्याउदा समय, श्रम र लागतमा बचत हुने भएकाले यसतर्फ कृषक आकर्षित भएका हुन् ।
धान काट्ने, केलाउने र परालको व्यवस्थापन एकैपटक गर्ने भएकाले यस क्षेत्रमा यो प्रविधिको प्रयोगमा उल्लेखनीय वृद्धि भएको हो ।
कृषि मजदुरको समस्याबाट पीडित हुने गरेका यस भेगका कृषकले समयमा धान भित्र्याउन नसक्दा थप नोक्सानी व्यहोरिरहेका थिए । कम्बाइन हार्भेष्टरको प्रयोगले यो समस्याको निराकरण गर्ने भएकाले यसको प्रयोगमा आफूहरु उत्साहित भएको कृषक बताउछन ।
धान पाकेपछि त्यसको व्यवस्थापनमा ठूलो जनशक्तिको आवश्यकता पर्ने, धेरै समय र लागत लाग्ने तथा कृषि श्रमिकको अभावमा समयमा धान भित्र्याउन नसक्दा त्यस जमिन गहुँ लगाउनसमेत ढिलो भई त्यसको उत्पादनमा प्रतिकूल प्रभाव पर्ने गर्दथ्यो ।
“अहिले गाउ“मै कम्वाइन हार्भेष्टर मेसिन भित्रिएपछि कम लागतमा समयमै कृषि कार्य गर्न सजिलो भएको छ,” पर्सा बिजबनिया“ कृषक जयकिशोर यादव भन्नुहुन्छ, “परम्परागत तरिकाभन्दा यो प्रविधिले धान भित्र्याउदा लाग्ने खर्चमा लगभग दुई तिहाई बचत, श्रम र श्रमिकको बचत तथा समयमा धान भित्र्याउन सकिन्छ ।
भाडामा लिएर गत वर्ष करिब तीन बिगाहामा जग्गामा यो मेसिनको प्रयोगले धान भित्र्याउन पाउ“दा परम्परागत तरिकाभन्दा झन्डै २५ प्रतिशत लागतमा कमी आएको उहाँले बताउनुभयो ।
परम्परागत तरिकाले धान भित्र्याउ“दा प्रतिबिघा रु १८ देखि २० हजार खर्च लाग्ने गरेकामा कम्वाइन हार्भेष्टर मेसिनवाट धान भित्र्याउ“दा प्रतिबिघा रु पाँच हजारमात्र खर्च लाग्ने गरेका छन् । यसले धान भित्र्याउन लाग्ने खर्चमा उल्लेखनीय कमी आएको दाबी उहाँको छ ।
बारा फत्तेपुरका अगुवा कृषक रमेश साहले भन्नुभयो, “परम्परागत तरिकाभन्दा यो प्रविधिको प्रयोगले समयमा धान भित्र्याउन सकिने तथा धान काट्ने, दाइँ गर्ने र केलाउने खर्चमा झन्डै दुई तिहाइ बचत हुने हुँदा यो मेसिन किसानका लागि अत्यन्त उपयोगी र प्रभावकारी भएको छ ।”
तीन वर्षअघि जिल्लामा यो मेसिन भित्र्याउँदा यसले एकैपटकमा धान काट्ने, केलाउने र परालको व्यवस्थापन गर्ने काम एकैपटक हुन्छ भन्दा कसैले पत्याएको थिएन । पर्सा कौवावनकटैयाका कृषक दाजुभाइ कासिम अन्सारी र हाकिम अन्सारीले भन्नुभयो, “हाम्रा खेतमा यो मेसिनको प्रयोग भएको आफ्नै आ“खाले देखेपछि गाउ“का कृषक पत्याउन थालेँ ।”
यो मेसिन भाडामा लगाउ“दा प्रतिबिघा रु पाँच हजारदेखि सात हजार तथा २५ देखि ३० मन धान केलाउँदा एक मन धान भाडावापत लिने गरेको कृषक हाकिम अन्सारीले बताउनुभयो ।
पछिल्लो समयमा मध्य तराईका बारा, पर्सा र रौतहटमा भित्रिएको कम्वाइन हार्भेष्टर मेसिन बहुउपयोगी सिद्ध भएपछि यसप्रति कृषकको आकर्षण बढ्दै गएको कृषि औजार अनुसन्धान केन्द्र वीरगन्जका प्रमुख कृषि इन्जिनियर ईश्वरी उपाध्यायले बताउनुभयो ।








