मंसिर १८ । आफ्नो पार्टी सरकारमा हुँदा समेत जनभावना विपरित कार्य भएको भन्दै नेकपा एमाले अर्घाखाँचीका अध्यक्ष चेतनारायण आचार्यले अध्यक्ष पदबाट राजीनामा दिनु भएको छ ।
जनताको पक्षमा गरिएको आफूहरुको मागलाई सरकारले बेवास्ता गरेको भन्दै नैतिक रुपमा आफूले अध्यक्षबाट राजीनामा दिनु पार्कएो अध्यक्ष आचार्यले जानकारी दिनु भयो ।
जनताको पक्षमा रहेर काम गर्ने वातावरण सृजना नभएकोले बुटबलमा अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर आचार्यले बुधवार राजिनामा पत्र पेश गर्नु भएको थियो ।
स्थानीय जनतको भावना विपरित जिल्लाको नरपानीमा चुनढुंगा उत्खनन गर्नका लागि राज्यले बल प्रयोग गर्न लागेकोले यो कार्य जनताको माग विपरित रहेको उहाको भनाई छ ।
आचार्यले आफू नरपानीका जनताको माग भन्दा बाहिर जान नसक्ने भएकोले आफुले सरकारको यो कदमलाई सघाउन नसक्ने भन्दै अध्यक्षबाट राजीनामा दिएको बताउनु भयो ।
चार वर्ष अघि भएको आन्दोलनका समयमा गरिएको सहमति कार्यान्वयन गर्नुको साटो राज्यले बल प्रयोग गरेर चुनढुंगा उत्खनन गर्न दिएको उहाको आरोप छ ।
यसअघि उत्खनन रोक्न पार्टीका शीर्ष नेताहरुसँगै गृहमन्त्री समेत रहेका वामदेव गौतमलाई जानकारी गराउँदा उनले यो ‘ग्लोबल टेन्डर’ भएकाले रोक्न नसक्ने जवाफ दिएको आचार्यको भनाइ छ ।
कम्पनीले विगतमा गरेका संझौता कार्यान्वयन नगरेर जनतालाई धोका दिएको भन्दै उत्खनन कार्य रोक्न माग गर्दै स्थानीयबासीन्दा संघर्षमा उत्रिए पछि उत्खनन कार्य बन्द भएको थियो ।








