मङ्सिर १३ ।लहान,जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार आव २०७०/७१ मा सिरहामा सुत्केरी गराउने क्रममा कुनै पनि महिलाको मृत्यु भएको छैन ।
सरकारले मातृ मृत्युदरमा कमी ल्याउन प्रोत्साहन कार्यक्रम सञ्चालन गरेपछि सिरहामा मातृ मृत्युदर तथा नवजात मृत्युदर समेत घटेको छ ।
स्वास्थ्य संस्थामा गएर नियमित गर्भवती जाँच गराउने र स्वास्थ्य संस्थामै पुगेर सुत्केरी गराउने महिलाको सङ्ख्या बढेका कारण मातृ मृत्युदरमा उल्लेख्य कमी आएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा दयाशङ्करलाल कर्णले जानकारी दिनुभयो ।
अघिल्लो आव २०६९/७० मा बच्चा जन्माउने क्रममा दुई महिलाको मृत्यु भएको थियो । यस्तै आव २०७०/०७१ मा छजना नवजात शिशुको मृत्यु भएको सो कार्यालयले जनाएको छ ।
आव २०६९/७० मा भने १० जना, आव २०६८/६९ मा १४ जना नवजात शिशुको मृत्यु भएको थियो । सरकारले स्वास्थ्य संस्थामा गएर प्रसूति गराउने महिलालाई प्रोत्साहन स्वरुप रु ५०० र न्यानो लुगा दिन थालेपछि सिरहामा स्वास्थ्य संस्थामा गएर सुत्केरी गराउनेको सङ्ख्यामा बढेको हो ।
आव २०७०/७१ मा स्वास्थ्य संस्थामा गएर दक्ष प्रसूतिकर्मीबाट सुत्केरी गराउने महिलाको सङ्ख्यामा १० हजार २५६ पुगेको छ भने घरमै दक्ष प्रसूतिकर्मीबाट ४३० जनाले सुत्केरी गराएको प्रमुख कर्णले जानकारी दिनुभयो ।
यस्तै आव २०७०/७१ मा स्वास्थ्य संस्थामा गएर पहिलोपटक गर्भवती जाँच गराउने महिलाको सङ्ख्या सतप्रतिशत रहे पनि नियमित चार पटकसम्म स्वास्थ्य संस्थामा गर्भवती जाँच गराउने महिलाको सङ्ख्या ५५ प्रतिशत रहेको उहाँले बताउनुभयो ।








