विमान चालकको शैक्षिक योग्यता नक्कली भेटियो

कात्तिक १९ ।काठमाडौँ,नेपाल वायु सेवा निगमका चालक दीपेन्द्र प्रधानले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र डेखाएर विमान उडाइरहेको खुलासा भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमाथि छनबिनको क्रममा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी विमान उडाइरहेको फेला पारेको हो ।

आयोगले आज विशेष अदालतमा चालक प्रधानविरुद्ध मुद्दा दायर गरेपछि उक्त कुराको खुलासा भएको हो ।

प्रधानले सेवा प्रवेशको क्रममा विहार इन्टर मिडियट एजुकेशन काउन्सिल पटना भारतबाट सन् १९९३ मा आइएस्सी तह उत्तीर्ण गरेको भनी प्रस्तुत गर्नुभएको प्रमाणपत्र नक्कली रहको पाइएको आयोगले जनाएको छ ।

प्रधानलाई हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको आयोगद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

यस्तै, आयोगले रौतहट मर्यादापुर गाविसका सचिव विश्वनाथप्रसाद शर्मा, जिल्ला प्राविधिक कार्यालय रौतहटका इन्जिनियरद्वय शिवजीप्रसाद राय र लक्ष्मणकुमार सेठले सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको आरोपमा आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उनीहरूले आर्थिक वर्ष २०६७/६८ देखि २०७०/७१ सम्मको सामाजिक सुरक्षा भत्ता र पूर्वाधार निर्माणको रकम दुरुपयोग गरेको अनुसन्धानको क्रममा फेला परेको आयोगले जनाएको छ । आयोगका अनुसार उनीहरूले रु चार लाख ७० हजार हिनामिना गरेको देखिएको छ ।

 

सम्बन्धित शिर्षकहरु