कात्तिक १६ ।दाङं,नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघ राप्ती अञ्चल समितिले आज दाङ लगायत राप्ती अञ्चलको यातायात बन्द गरेका छन् ।
दाङका खोलाहरुबाट ढुंगाजन्य बस्तुको निकासीमा लगाईएको रोक फुकुवा हुनुपर्ने माग गर्दै यायातात व्यवसायीहरुले यातायात बन्दको आह्वान गरेका हुन ।
समितिले गरेको यातायात बन्दका कारण आज बिहानैदेखि जिल्ला भित्र चल्ने तथा जिल्लामा भित्रने र जिल्लाबाट बाहिरिने गाडि चल्न सकेका छैनन् ।
स्कुल बस, एम्बुलेन्स, दुध, तरकारी बोक्ने गाडि लगायतका अत्यावश्यक सवारीसाधन भने निर्वाध रुपमा चलिरहेको समितिले जनाएको छ । बिहान ६ बजेदेखि भएको बन्द दिउँसो १ बजे मात्रै खुल्ने छ । राप्तीका सल्यान, रोल्पा, रुकुम, प्युठानमा पनि यातायात ठप्प रहेको हाम्रा सम्वाददाताहरुले जानकारी दिनुभएको छ ।
चुरे क्षेत्र संरक्षण गर्ने भन्दै सरकारले दाङ सहितका जिल्लाहरुमा ढुंगाजन्य वस्तुको निकासीमा रोक लगाएपछि ट्रयाक्टर, ट्रिपर लगायतका सवारीसाधनहरु काम बिहीन भएका छन् ।
यस्तै भौतिक निर्माण कार्य अलपत्र परेको छ भने मजदुरहरुलाई दैनिक रोजिरोटिको समस्या भएको छ ।
जिल्ला स्तरीय अनुगमन तथा समन्वय समिती जिल्ला विकास समिती दाङले भने विकल्पको रुपमा जिल्लाको ५ स्थानबाट निश्चित मात्रमा ढुंगाजन्य बस्तुहरु निकासी गर्न पाउने ब्यबस्था गरेको जनाएको छ ।








