शासकीय स्वरुप तथा राज्य पुनःसंरचना बारे दलहरुबीच छलफल

भदौ १७ ।काठमाडौँ, नयाँ संविधानमा कस्तो शासकीय स्वरुप अपनाउने तथा राज्य पुनःसंरचना कसरी गर्ने र कतिवटा प्रदेश बनाउने लगायत बिषयमा प्रमुख दलबरुबीच छलफल भएको छ ।

प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुको आज बिहान बसेको बैठकमा राज्य पुनःसंरचना र शासकीय स्वरुपको विषयमा केन्द्रित रहेर छलफल भएको हो ।

संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईको आग्रहमा संविधानसभा सचिवालय सिंहदरबारमा बसेको प्रमुख दलका शीर्ष नेताहरुको बैठकमा राज्य पुनःसंरचना र शासकीय स्वरुप सम्बन्धमा दलगत धारणा प्रस्तुत भई त्यसमाथि छलफल चलेको थियो ।

यी विषयमा दलहरुबीच लामो समयदेखि बहस र छलफल चल्दै आएको छ ।

बैठकपछि नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले राज्य पुनःसंरचना र शासकीय स्वरुपका विषयमा प्रमुख तीन दलले आ–आफ्नो

धारणा राखेर सहमतिका लागि छलफल चलाएको जानकारी दिनुभयो ।

एनेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राज्य पुनःसंरचनाको असाध्यै महत्वपूर्ण पक्ष सङ्घीय संरचनाको विषयलाई कसरी हल गर्ने भने पाटोबाट दलहरुबीच छलफल भएको प्रतिक्रिया दिनुभयो ।

नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले नयाँ संविधानका महत्वपूर्ण दुईवटा अन्तर्वस्तु राज्य पुनःसंरचना र शासकीय स्वरुपका विषयमा तीन प्रमुख दलबीच गहन ढङ्गबाट छलफल गरी एक–एक गरेर टुङ्ग्याउँदै जाने सैद्धान्तिक सहमति भएको बताउनुभयो ।

 

सम्बन्धित शिर्षकहरु