भदौ १२,सिड्नी- सिरिया र इराकमा भइरहेको द्वन्द्वमा २ आत्मघाती बम आक्रमणकारीसहित कट्टरपन्थी इस्लामिक समुहमा संलग्न १५ जना अस्ट्रेलियालीको मृत्यु भइसकेको गुप्तचर प्रमुख डेविड इर्विनले बुधबार बताएका छन्।
इस्लामिक स्टेट (आईएस) जस्ता हिंसात्मक धार्मिक युद्ध मच्चाउने जिहादिस्ट समूहमा अस्ट्रेलियालीहरूको ह्वात्तै बढेको बताइएको छ । एक जना इस्लामिक स्टेटका लडाकू, अस्ट्रेलियाली पुरुष खालिद सारूफका सिड्नीमा हुर्केका छोराले एक सिरियाली सैनिकको कुहेको शिर हातले उठाउँदै गरेको उनको तस्वीर ट्विटरमा पोस्ट गरेपछि ठूलो हलचल मच्चिएको थियो।
अस्ट्रेलियन सेक्युरिटी इन्टेलिजेन्स अर्गनाइजेसन (एएसआईओ)ले यसको परिणामस्वरूप थुप्रै नागरिकहरू सुरक्षाको दृष्टिकोणले खतरानाक भएको ठानेको उनले बताए। हामीले हालको द्वन्द्वमा २ जना युवा अस्ट्रेलियाली आत्मघाती बम्बरलगायत १५ जना अस्ट्रेलियालीको मृत्यु भइसकेको विश्वास गरेको छौं।
अस्ट्रेलियाका सयभन्दा बढी व्यक्ति ती कट्टरपन्थी समूहलाई सक्रिय समर्थन गर्दै नयाँ लडाकू, आत्मघाती बम विस्फोटक रूपमा भर्ती भइसकेको र उपकरण तथा पैसा उपलब्ध गराइरहेको उनले बताए। इराक र सिरियाको रक्तपातपूर्ण द्वन्द्वले नयाँ पुस्ताको लडाकू तयार गरिरहेकोले अस्ट्रेलियाले सुरक्षा र गुप्तचरमा खर्च बढाउँदै आतंकवादविरुद्धको प्रयासलाई तीव्रता दिइरहेको छ।
विदेशमा गएर लड्ने, हिंसाका लागि प्रतिबद्ध र हतियार वा बम प्रयोग तथा बनाउने तालिम पाएकाहरू अस्ट्रेलियामा फर्कनुले खतरा उत्पन्न हुनेमा गुप्तचर निकायहरू चिन्तित रहेको इर्विनले बताए। सरकारले आतंककारीहरूलाई गिरफ्तार गरि छानविन गर्ने प्रक्रियासम्बन्धी कानुनलाई सहज बनाउन व्यापक परिवर्तको योजनामा रहेको छ। यसले कुनै उपयुक्त तथा प्रामाणिक कारणबिना द्वन्द्वरत क्षेत्रहरूको यात्रामाथि रोक लगाउनेछ।
प्रधानमन्त्री टोनी अबोटले बुधबार संसद्मा सिड्नी र मेलबर्नको अन्तर्राष्ट्रिय विमानस्थलहरूमा आतंकवादविरुद्धको जाँच गर्ने एकाइ राखेको जानकारी दिए। तिनीहरूले राष्ट्रिय सुरक्षाको सूचीमा परेकाहरूको गतिविधिमाथि निगरानी राख्ने उनले बताए।
‘समान प्रकारको इकाइहरू केही समयपछि नै अस्ट्रेलियाको सबै विमानस्थलहरूमा स्थापित गरिनेछ’ –विमानस्थलमा थप ८० सीमा सुरक्षा बलका अधिकृतलाई तैनाथ गरिने उल्लेख गर्दै उनले बताए। उक्त नयाँ इकाइले एक जनालाई फेलासमेत पारिसकेको जानकारी दिए।
(नेपाल समाचार पत्र )








