भदौ ३, काठमाडौँ- जब जब दलित समस्या र छुवाछुतको बिषयमा बहस र छलफल हुन्छन त्यहाँ एउटा कुरा जोडतोडले उठाइन्छ- सहरी क्षेत्रमा छुवाछुतको समस्या कम छ वा छदै छैन । तर यी तर्कहरु निराधार साबित पनि हुदै आएका छन् । शहरमा छुवाछुत छैन भन्नेहरुलाई एउटा गतिलो पाठ बनेको छ कमला रसाइली संग घटेको एक घटना ।
रेडियो नेपालकी सम्बाददाता कमला रसाइलीलाई दलित भएकै कारण पैसा तिरिसकेको कोठामा पनि घरबेटीले बस्न नदिएको घटना बाहिर आएको छ । यसरि दलित भएकै कारण कोठामा बस्न नदिएपछि कमलाले प्रहरीमा उजुरी गर्नुभएको छ । पाटनबाट कोठा सर्ने भन्दै बनेश्वोरको एक घरको कोठाका १ महिनाको भाडा समेत बुझैसकेकी कमललाई दलित भनेर थाहा पाएपछि घरबेटी कृष्ण थापाले कोठा नदिने भनि फोन गरेका थिए ।
आफू दलित भएकै कारण घरबेटीले हेपेपछि उहाले कानुनी लडाइँ लड्नको लागि महानगरीय प्रहरी वृत्त तीनकुनेमा उजुरी हलुभायो , जातीय भेदभाव तथा छुवाछुत मुद्दामा।
प्रहरीसमक्ष कमलाले उजुरी हालेपछि प्रहरीले घरबेटीलाई बोलाएर सोमबार छलफल गरेको छ। छलफलका क्रममा घरबेटी थापाले आफ्नो घरमा बुढीआमा भएको र उनले नै राख्न असहज अनुभव गरेकाले कमलालाई अन्तै जान आग्रह गरेको बताएका थिए। छलफलमा घरबेटी थापाले आफूबाट भूल भएको र जोसुकै आएपनि कोठामा बस्न दिने बताएका थिए। घरबेटीले माफी मागेपछि प्रहरी रोहबरमा दुवै पक्षबीच मेलमिलाप भएको छ। मेलमिलाप भए पनि कमला भने त्यो कोठामा नबस्ने हुनुभएको छ ।








