असनेपाल न्युज सम्बाददाता/
साउन १०, काठमाडौँ- विभिन्न संस्थाहरुले बिदेशमा गएर काम गर्ने नेपाली कामदारको संख्या ५० लाखको हाराहारी भएको दावी गरिरहदा सरकारले भेने सरकारी श्रम स्वीकृति लिएर ३१ लाख नेपाली वैदेशिक रोजगारमा गएको तथ्य बाहिर ल्याएको छ ।
व्यवस्थापिका संसद्को बिहीबार बसेको बैठकमा श्रम तथा यातायात राज्यमन्त्री टेकबहादुर गुरुङले यो जानकारी उपलब्ध गराउनु भएको हो । गुरुङले प्रस्तुत गरेको तथ्यांकमा अबैध रुपमा बैदेशिक रोजगारीमा काम गर्न गएका र भारतमा काम गर्दै गरेका नेपालीको संख्या परेको छैन । यदि त्यो संख्या पनि जोड्ने हो भने करिब ५० लाख नेपाली बिदेशमा आफ्नो पसिना बगाइरहेका छन् । जुन हाम्रो कुल जनासंख्याको करिब २५% प्रतिशत हुन आउछ ।
देशमा कल कारखाना खुल्न नसक्दा बेरोजगारीको समस्या बिकराल बन्दै जादा युवा शक्तिको एक मात्र विकल्प बैदेशिक रोजगार बनेको छ । आजका मितिमा दैनिक रुपमा औसतमा एक हजार पाँच सय युवा रोजगारीका लागि बिदेसिने गरेका छन्।यसरी देशको उत्पादक शक्ति बाहिरिदा देशमा उत्पादकत्व घट्दै छ भने रेमिट्यान्स भित्रिने क्रम भने बार्षिक रुपमा बढ्दै छ । आर्थिक वर्ष २०६९/७० मा चार अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राज्यमन्त्री गुरुङले संसदलाई जानकारी गराउनुभयो।
कुल गार्हस्थ उत्पादनमा रेमिट्यान्सको योगदान २३ प्रतिशत रहेको जानकारी गराउदै उहाले युवाको सीप र दक्षता उपयोग गर्न नेपाल राष्ट्रबैंक, राष्ट्रिय योजना आयोग, अर्थ, उद्योग, वाणिज्य, कृषि र श्रम मन्त्रालयका प्रतिनिधि रहेको एक कार्यदल गठन गर्ने तयारी भइरहेको पनि बताउनुभयो।








