साउन ४ । काठमाडौँ – दक्षिण कोरोयाले इपिएस परिक्षामा उत्तीर्ण भएर पनि कोरिया जान नपाउने युवाले आन्दोलन गर्न थाले पछी अब कोरिया भाषा परिक्षामा थोरैलाई मात्र पास गराउने भएको छ । अब देखि कोरियाको बजारमा कामदारको मागको आधारमा इपियस पास गराइने भएको हो । त्यसका लागी कोरियाको मानव संशाधन विकास (एचआरडी)ले परिक्षा प्रणाली र नियम नै परिवर्तन गर्ने तयारि गरेको इपियस कोरिया सेन्टरले जानकारी दिएको छ ।
गत वर्ष ८ हजार युवा भाषा परीक्षामा उत्तीर्ण भएका थिए । भाषा परीक्षामा उत्तीर्ण भएको २ वर्षभित्र कोरिया पुगिसक्नुपर्छ । तर, सन् २०११ मा भाषा परीक्षा दिएका मध्ये करिब ३ हजार कोरिया जान पाएनन् । नियम परिवर्तनबाट उत्तीर्ण युवा बढीभन्दा बढी जान सक्ने व्यवस्था हुने सेन्टरले जनाएको छ । दक्षिण कोरियामा औद्योगिकतर्फ २० वटा क्षेत्र छन् भने कृषि र पशुपालन २ क्षेत्रमा कामदार जान पाउँछन् । दक्षिण कोरियाले ४ वर्ष १० महिना काम गरी फर्केका कामदारले पुनः जान दिनुपर्ने कम्प्युटरमा आधारित परीक्षा (सीबीटी)मा पनि कम उत्तीर्ण गराउन थालेको छ । विगतमा ८० प्रतिशतसम्म उत्तीर्ण गराएको एचआरडीले अहिले २० प्रतिशतमात्र उत्तीर्ण गराउन थालेको हो ।
यसै बीच कोरियाले यो वर्ष भाषा परीक्षामा ६० हजार नेपाली युवाको आवेदन पुग्ने अनुमान गरेको छ । पारिश्रमिक वृद्धि, आवेदन केन्द्र विस्तार र प्रचारप्रसारका कारण आवेदकको संख्या बढ्ने अनुमान कोरियाले गरेको हो । गत वर्ष सबैभन्दा बढी आवेदन नेपालबाट परेको थियो । गत वर्ष करिब ४७ हजार युवाले कोरियाका लागि आवेदन गरेका थिए ।







