असार ३१ ।काठमाडौं,पुर्व सहमति अनुसार कुल बजेटको २० प्रतिशत बजेट कर्णालीको लागि नछुट्याएको भन्दै कर्णाली स्वायत्त प्रदेश संघर्ष समितिले माँग पुरा नभए आन्दोलन गर्ने चेतावनी दिएको छ ।
रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गरेर समितिले सरकारले हालै सार्वजनिक गरेको आर्थिक बर्ष २०७१\७२ को बजेटले कर्णालीवासीलाई उपेक्षा गरेको भन्दै ६ बुँदे माग सहित बजेटको विरोध गरेको हो ।
स्वायत्त संघर्ष समिति र नेपाल सरकारबीच यस अघि भएको सम्झौता विपरित कुल बजेटको २० प्रतिशत बजेट कर्णालीको लागि नछुट्याएको भन्दै ६ बुँदे मागपत्र सार्वजनिक गर्दै माँग पुरा नगरे संघर्षमा उत्रने चेतावनी दिएको छ ।
संघर्ष समितिले कर्णालीको समग्र विकासलाई सरकारले उपेक्षा मात्रै नगरेर सम्पूर्ण कर्णालीवासीको मर्म र भावनामाथि खेलबाड गरेको आरोप लगाएको छ ।
कार्यक्रममा बोल्दै संघर्ष समितिका संयोजक नरेश भण्डारीले कर्णालीको विकासका सवै खाले संभाव्यतामाथि राज्यले बेवास्ता गरेकोमा आपत्ति जनाउँदै बजेट संसोधन नगरे अर्को क्रान्ति गर्ने बताउनु भयो ।
समितिका सदस्य प्रकाश रोकायले बजेट हेपाहा प्रवृत्तिले ल्याईएको भन्दै उनले कर्णालीको विकासमा सरकार उदासिन र गैरजिम्मेवार भएको आरोप समेत लगाउनु भयो । । रोकायले आफ्ना माँगहरुको कुनै सुनुवाई नभए अर्को क्रान्ति गर्न कर्णालीवासीहरु बाध्य हुने चेतावनी दिनु भयो ।
कार्यक्रममा संघर्ष समितिका सचिव धन बहादुर बुढाले कर्णाली स्वायत्त प्रदेश समिति र सरकारवीच भएका सहमती विपरित अहिलेको सरकारले बजेट ल्याएको भन्दै आफूहरु यसको विरुद्धमा संघर्षमा उत्रने चेतावनी दिनु भयो ।








