किशोरीलाई बलात्कार गरी भाग्ने युवक पक्राउ

असार १९ ।गौशाला, महोत्तरी जिल्लाको बर्दिबासमा आफ्नै छिमेकीको छोरीलाई बलात्कार गरी फरार रहेको आरोपमा ३२ वर्षीय दिनेश साह पक्राउमा परेका छन ।

बर्दिबास गाविस-५ बस्ने महेन्द्र साह सोनारका छोरा दिनेशलाई इलाका प्रहरी कार्यालय बर्दिबासले आज पक्राउ गरेको हो ।

दिनेशले २०६८ जेठ ५ गते आफ्नै छिमेकीका एक किशोरीलाई बलात्कार गरी फरार रहेकामा प्रहरीले आज उनलाई बर्दिबास बजारबाट पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक अशोक झाले बताउनुभयो ।

पीडित परिवारले घटना भएकै दिन प्रहरीमा दिएको जाहेरीपछि आरोपित फरार रहँदै आएकामा उनी एक्कासि बर्दिबास बजारमा देखापरेपछि उनलाई पक्राउ गरेको निरीक्षक झाले बताउनुभयो ।

आरोपित दिनेशलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत महोत्तरीमा उपस्थित गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु