
भदौं १, काठमाडौं । सरकारको निरन्तर प्रयासपछि सोमबारको मन्त्रिपरिषद्को बैठकले इम्बोस्ड नम्बर प्लेटको लागत स्वीकृत गरेसँगै भदौ ४ गते आइतबार देखि इन्बोस्ड नम्बर प्लेट औपचारिक रूपमा कार्यान्वयमा आउने भएको छ । पहिलो चरणमा कूटनीतिक र सरकारी सवारीसाधनबाट यो निर्णय कार्यान्वयनमा ल्याइने जनाइएको छ । इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयन सरकारी सवारीसाधनबाट सुरु गरी ५ वर्षभित्र सबै सवारीमा जडान गरी सक्ने सरकारी लक्ष्य रहेको छ ।
मोटरसाइकल तथा स्कुटर धनीले इम्बोस्ड नम्बर जडान गर्न २५ सय रुपैयाँ, कार/जिप/भ्यान तथा ट्र्याक्टरले ३२ सय र यस बाहेकका सबै प्रकारका ठूला सवारी साधनका सवारी धनीले इम्बोस्ड नम्बर जडान गर्दा ३६ सय रुपैयाँ खर्च गर्नुपर्नेछ । एउटा सवारीसाधनमा अगाडि र पछाडि दुई ठाउँमा इम्बोस्ड नम्बर प्लेट जडान हुन्छ ।
यस्ता प्लेटमा लेखिएका अक्षरहरु बाहिर देखिने गरी उठेका हुन्छन्। यो बलियो र किफायती हुनेछ। यो नम्बर प्लेट एकपटक जडान गरेपछि निकाल्न मिल्दैन। त्यसैकारण कसैले पनि सवारी चोरी गरेर चलाउन सक्दैन। संघीयतामा गएपछि पनि सवारी दर्ता प्रणालीलाई यसै स्टीकरमार्फत व्यवस्थित गर्न सकिने विभागले जनाएको छ ।
यो नम्बर प्लेटमा राखिने प्रविधियुक्त चीप्स भित्र पनि सवारी धनी र सवारीका विभिन्न विवरणहरु हुन्छन् । जसका आधारमा प्रहरीले सवारीको डिटेल तुरुन्त लिन सक्छ । प्रहरीले हातैमा बोक्ने रिडर मेसिनले इम्बोस्ड नम्बर प्लेटलाई सहजै चेकजाँच गर्न सक्छ । स्मार्ट ब्लु-बूक र इम्बोस्ड नम्बर प्रणालीले प्रहरीलाई सवारी चेकजाँचमा सहज हुनेछ ।
यस्तै शहरका विभिन्न भाग र राजमार्गहरुमा इम्बोस्ड नम्बर प्लेटलाई रिड गर्ने मेसिनसहितको गेट राखिने छ । जसलाई पार गर्ने जुनसुकै सवारीका सबै विवरणलाई मेसिनले रिड गरेर कम्प्युटरमा ‘अटो इन्ट्री’ गर्नेछ । यसबाट कुन सवारी कुन क्षेमा छन् भन्ने थाहा पाउन समय लाग्दैन । यसैका माध्यमबाट कुन नम्बरको गाडी, कुन समयमा, कुन ठाउँका पुग्यो भन्ने सूचना नम्बर प्लेटकै सहयोगमा प्रहरी र विभागले प्राप्त गर्न सक्छ। यो सुविधाले प्रहरीलाई अपराध नियन्त्रणमा सहयोग पुग्नेछ।








