काठमाडौं । मन्त्री फेरबदल गर्ने विषयले सत्तारुढ एकीकृत समाजवादीभित्र चरम विवाद देखिएको छ । फेरबदल गर्ने पार्टी निर्णयविरुद्ध १० जना सांसदहरु ‘विद्रोह’मै उत्रिएका छन् । सांसदहरुले मन्त्री फेर्ने पार्टी निर्णयलाई स्वीकार गर्न नसक्ने स्पष्ट पारेका छन् ।
शुक्रबार पार्टी अध्यक्ष माधवकुमार नेपाललाई पत्र लेख्दै सांसदहरुले पार्टी निर्णयलाई स्वभाविक मान्न नसकिने स्पष्ट पार्दै तत्कालै छलफलका लागि संसदीय दलको बैठक बोलाउन माग गरेका छन् ।
मन्त्रीहरू विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ लगायत १० जना सांसदले मन्त्री हेरफेर गर्ने पार्टीको निर्णयप्रति असहमति जनाउँदै हस्ताक्षर बुझाएका हुन् । पत्रमा सांसदहरू कृष्णलाल महर्जन, गोपाल बहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र निरा जैरुले पनि हस्ताक्षर गरेका छन् ।
उनीहरूले सरकारबाट फिर्ता बोलाउँदा अपराधीको जस्तो व्यवहार गरिएको
आरोप पनि लगाएका छन् । बजेट अधिवेशन चलिरहेको समयमा एक्कासि मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा सही र स्वभाविक मान्न नसकिने पनि अध्यक्ष नेपाललाई बुझाइएको पत्रमा उल्लेख छ ।
पूर्वजानकारी पाउँदा स्वभाविक प्रक्रियाबाट मन्त्री पदबाट राजीनामा गरेर आउँछौँ भनेर नेतृत्वलाई दिलाइको विश्वासमा ठेस पुर्याउने र पटक–पटक अपराधीलाई जस्तो व्यवहार गरिएको आरोप पत्रमार्फत लगाइएको छ । ‘यस्तो व्यवहार कदापी ठीक मान्न सकिँदैनु’, पत्रमा लेखिएको छ ।
अध्यक्षलाई लेखिएको पत्रमा सांसदहरुले मन्त्रीहरु फेरबदल गरेमा केही सर्तहरु पुरा गर्नुपर्ने पनि स्पष्ट पारेका छन् । उनीहरुले नयाँ टिम सन्तुलित र समावेशी हुनुपर्ने माग राखेका छन् ।








