चितवनामा स्वाइन फ्लुका बिरामीको संख्या घट्यो

चैत २३ ।चितवन,चितवन जिल्लामा बढ्दै गएको स्वाइन फ्लुका बिरामीको सङ्ख्या घट्दै गएको छ ।जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुरको सरकारी अस्पतालमा दैनिक २० देखि २५ जनासम्म स्वाइन फ्लु आशङ्काका बिरामीको नमुना सङ्कलन गरिएको थियो । यो सङ्ख्या घट्दै आएर हाल दैनिक चार\पाँचजनामा झरेको छ । माघको दोस्रो हप्ताबाट देखिन थालेको स्वाइन फ्लु फागुनको अन्तिम साता र चैतको पहिलो साता ह्वात्तै बढेको थियो ।

कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार माघको दोस्रो सातादेखि हालसम्म ४४७ को नमुना परीक्षणका लागि पठाइएकामा १५३ मा स्वाइन फ्लु प्रमाणित भएको छ । जसमध्ये ८८ महिला छन् भने ६५ पुरुष रहेका छन् । प्रमाणित भएकामध्ये सबैभन्दा बढी चितवनका १२८ र नवलपरासिका १५ रहेका छन् ।त्यसैगरी, रौतहट, धनुषा, कास्की, गोरखा, रुपन्देही, पर्सा, तनहुँ, काभ्रे, महोत्तरी र बाराका एक\एक रहेको केसीले बताउनुभयो । जिल्लामा सरकारी अस्पताल भरतपुर अस्पतालमा मात्र नमुना सङ्कलन गरिँदै आएको छ । अस्पतालमा तीव्र परीक्षणका क्रममा शङ्कास्पद देखिएमा पिसिआर परीक्षणका लागि काठमाडौँ पठाइन्छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मधुसूदन कोइरालाले गर्मीसँगै स्वाइन फ्लु फैलिने क्रममा कमी आउने हुँदा मौसमका कारण बिरामीमा कमी आएको उहाँले उल्लेख गर्नु भयो ।बिरामी घटेसँगै भरतपुर अस्पतालमा राखिएको सहयोग कक्ष पनि हटाइएको छ ।

सम्बन्धित शिर्षकहरु